दिलीप पोखरेल
९ वैशाख/ उर्लाबारी
उर्लाबारी-२ मंगलबारेको सालबारी सामुदायिक वनको माछा काण्ड चर्चामा आएको छ । वनले व्यवस्थापन गर्दै आएको लामपाते सिमसार तथा पोखरीबाट उत्पादित माछाको विषय सतहमा आएको हो । उक्त पोखरीबाट हरेक वर्ष निकालिने माछाको बिक्री वितरणमा पारदर्शिता नभएको भन्दै विवादमा आएको हो ।

केही दिनअघि एउटा भिडियो उर्लावारीमा भाइरल हुन थालेपछि यसको सोधीखोजी हुन थालेको हो । कार्यसमितिले संस्थागत दोहन र अनियमिततामा संलग्न रहेको भन्दै स्थानीय उपभोक्ताहरू विवादमा गरेको भिडियामा देख्‍न सकिन्छ ।

सार्वजनिक भएको भिडियोमा स्थानीय उपभोक्ताले पोखरीबाट निकालिएको ठूलो परिमाणको माछा सार्वजनिक सूचना वा प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै मनपरी ढंगले बाँडफाँड भएको आरोप लगाइएको छ ।

पोखरीबाट माछा निकालेर केही मात्रामा बिक्री गरेको र ठूलो परिमाणमा माछा लुकाएर राखिएको समितिलाई आरोप लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा लुकाइएका माछा सार्वजनिक गर्न खोज्दा सचेत उपभोक्तामाथि नै दुर्व्यवहार र धाकधम्की दिइएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

माछा बेच्न सार्वजनिक सूचना प्रकाशन गरेर प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने भन्दै उक्त सामुदायिक वनमा कानुनी प्रावधानलाई लत्याएको आरोप लागेको छ ।

सामुदायिक वन केही व्यक्तिको निजी सम्पत्तिमा रुपान्तरण भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेका छन् ।

यसैबीच सो घटनाबारे जानकारी लिन समितिका अध्यक्ष जर्मन थापालाई पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। यस विषयमा समितिकी सचिव सुनिता बानियाले केही जानकारी दिएकी छन्।उनकाअनुसार उत्पादित माछा पोखरीबाट निकाल्नुअघि समितिको बैठक बसी मूल्य निर्धारण गरी उपभोक्तामाझ बिक्री गर्ने निर्णय गरिएको थियो। उनले भनिन्, “प्रतिकिलो ३५० रुपैयाँका दरले बिक्री गर्ने निर्णयसहित हामीले माछा पोखरीबाट निकालेर बिक्री गरेका हौं। हामीसँग बिक्री गरेका सबै बिल सुरक्षित छन् ।”

यस्तै सबै उपभोक्तालाई माछा अपुग भएपछि खैलाबैला मच्चिएको उनले बताइन्। बानियाका अनुसार करिब ३१४ केजी माछा बिक्री गरिएको छ। खैलाबैला मच्चिने क्रममा सामान्य विवाद भएको र बुधबार उक्त विवाद समाधान भइसकेको उनले जानकारी दिइन्।

यस्तै, उत्पादित माछामध्ये केही परिमाण हराएको भन्ने सवालमा आफू अनविज्ञ रहेको उनले बताइन्। उनका अनुसार खाडीबाट करिब ३१६ केजी माछा निकालिएको थियो। साथै उनले समितिको तर्फबाट कुनै सूचना प्रकाशन नगरि माछा बिक्री गरेको स्विकार्दै केहि त्रुटी भएको हुनसक्ने बताईन् । समितिले यसपटक तेस्रो लटको माछा निकालेको उनले बताईन् ।

यता केही स्थानीयले भने खाडीबाट केही माछा गायब पारिएको आरोप लगाउदै आएका छन्। यद्यपि हामी यसबारे अध्यक्षको थप धारणा बुझ्ने प्रयास जारी राख्नेछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय