अमेरिकाको टेक्सास शहरमा एक नेपाली युवाको गोली हानेर हत्या भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० सेजे घर भई एक वर्ष अघि अमेरिका रहदै आएका ३० वर्षिय दिपक ओलीको हत्या भएको हो ।
टेक्सासको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय ओलीलाई लुटेराले गोली हानेर हत्या गरेको खबर त्यहाको पुलिसले उहाँका आफन्जनलाई गराएको थियो । अमेरिकी समय अनुसार आईतबार बिहान अन्दाजी ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ ।
लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिए । गत वर्षमात्र अमेरिका पुगेका ओलीका बाँफिकोटस्थित घरमा ५ बर्षिया छोरी, श्रीमति र आमाबुवा रहेका छन ।
लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए । मृतकका आफन्त कुसारीले घरमा खबर गरिसकेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।

