उर्लाबारी , उर्लाबारी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण सुरु गरेको छ । सामुदायिक विद्यालयका छात्राहरुको लागि महिनावारी व्यवस्थापन गर्न सेनेटरी प्याड उपलब्ध गराएइको हो । आज उर्लाबारी–६ स्थित राधिका माविमा १४४० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको छ ।
नगरका अन्य सामुदायिक विद्यालयमा पनि वितरण गरिने छ । प्याड हस्तान्तरण गर्दै नगर उपप्रमुख मीना खतिवडा पौडेलले सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूलाई महिनावारीका बेला पढाइमा बाधा उत्पन्न नहोस् भनेर निःशुल्क सेनेटरी प्याड वितरण गरिएको बताउनुभयो । यसबाट महिनावारी व्यवस्थापनका लागि सघाउ पुग्ने उहाँले बताउनुभयो । सो अवसरमा नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेल, शिक्षा अधिकृत अशोक घिमिरेलगायतको उपस्थिति रहेको थियो । सामुदायिक विद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड नगरपालिकाले वर्षेनि उपलब्ध गराउँदै आएको छ ।

