दिलिप पोखरेल
१८ भदौ/ उर्लाबारी
सोमबार कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन ।उर्लाबारी -५ स्थित अरनिको हस्पिटलमा कार्यरत एक चिकित्सकले आफ्ना स्वर्गीय पिताको स्मृतिमा विपन्न विरामीहरुको उपचारका लागि अक्षयकोष स्थापना गरेका छन् ।
सोमबार बुबाको मुख हेर्ने दिनको अवसरमा हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्दीप अधिकारीले विपन्न विरामीहरूको उपचारका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
सो हस्पिटलका सञ्चालक समिति सदस्य समेत रहेका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अधिकारीले आफ्ना स्वर्गीय बुबा पदमप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोषको स्थापना गरेको बताए ।
यस वर्ष एक लाख रुपैयाँको अक्षयकोष सुरुवात गरिएको र प्रत्येक वर्ष कोषको रकम बढाउँदै लगिने उनले बताए ।यसरी अक्षयकोष स्थापना गर्दा अरुलाई समेत प्रोत्साहन हुने भएकाले आउँदा दिनहरुमा अन्य सहयोग गर्न ईच्छुकहरुमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।
यस्तै हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले अक्षयकोषको रकमलाई पारदर्शी हिसाबले विरामीहरुको उपचारमा खर्च गरिने बताए । उपचारार्थ भर्ना भएका विपन्न अवस्थाका विरामीहरुले सो हस्पिटलको वेलफेयर युनिटमा सम्पर्क गरी सिफारिस लिएर वार्षिक एक लाखसम्मको उपचार सेवा लिन सक्ने अध्यक्ष पोमूले बताए।
यता अक्षयकोषदाता डा. अधिकारीले बुबाको मुख हेर्ने दिनको महत्वपूर्ण अवसरमा अक्षयकोष स्थापनाको घोषणा गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए ।यस्तै उनले कोषको माध्यमबाट समाजका असहाय र विपन्न वर्गका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय