उर्लाबारी । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारणसभाको क्रममा सोमबार ईकाई ३ अन्तरगत मोरङको उर्लाबारीमा साधारणसभा सम्पन्न गरेको छ।


कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले सहकारीमा बचत गर्ने बानीले ग्रामीण क्षेत्रका बासिन्दालाई उद्यमी बन्ने प्रेरणा मिलेको बताउँदै, सदस्यहरूलाई संस्थाको गतिविधिमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभयो।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा, अध्यक्ष बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन अनुसार, संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ७३ करोड १० लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ। साथै, संस्थाको कुल कारोबार १ अर्ब १६ करोड १६ लाख रुपैयाँ पुगेको छ।

साधारणसभामा उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) र सहकारी सञ्चाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीले पनि आ-आफ्ना धारणा राख्नुभयो। कार्यक्रममा उर्लाबारी इकाइका संयोजक अशोक सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन व्यवस्थापक कमल कुमार घिमिरेले गर्नुभएको थियो।
संस्थाले दमकमा मुख्य कार्यालय र अन्य विभिन्न स्थानमा ५ वटा सेवा केन्द्र सञ्चालन गरेको छ, जसमा उर्लाबारीको इकाइ समेत समावेश छ। उर्लाबारीमा मात्र १ हजार २ सय शेयर सदस्य रहेका छन्, जुन संस्थाको स्थायित्व र विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

