उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफनो २२औं साधारण सभा सम्पन्न गरेको छ।

 

उर्लाबारी वडा नं ५ स्थित सगरमाथा सहकारी संस्थाको सभा हललमा सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले संस्थाको सफलताको चर्चा गर्दै उर्लाबारीलाई पूर्वी क्षेत्रकै खानेपानीको नमुना बनाउन नगरपालिकाले विशेष भूमिका खेलेको उल्लेख गरे। उनले हाल सञ्चालनमा रहेका पाँचवटा आयोजना उर्लाबारी व्यवस्थापन समितिले हेर्ने गरेको र निर्माणाधीन चारवटा ट्यांकी यसै आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिए। साथै, वडा नं. २ का लागि पनि आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको बताए।

विशिष्ट अतिथि संघीय खानेपानी तथा ढल निकास डिभिजनका प्रमुख सुरजलाल चौधरीले उर्लाबारी खानेपानी आयोजनाको प्रशंसा गर्दै थप रकमको माग केन्द्रमा पठाइसकिएको र असोज मसान्तअघि स्वीकृत हुने अपेक्षा व्यक्त गरे। नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले उर्लाबारीको खानेपानीको व्यवस्थापन समिति सक्रिय रहेको र यसलाई सबै राजनीतिक दलको सहयोग रहने विश्वास व्यक्त गरे।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुरेन्द्र लिम्बु, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, लोकतान्त्रिक समाजवादीकी नगर अध्यक्ष मातृका धिमाल, नगर उपप्रमुख मिनाकुमारी खतिवडा लगायतका अतिथिहरूको उपस्थिति थियो।

साधारण सभामा समितिका सचिव मेघराज सिर्पालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष तेजकुमारी खतिवडाले ४ करोड २३ लाख १९ हजार आम्दानी र २ करोड ८६ लाख ९५ हजार सञ्चालन खर्च भई १ करोड ३६ लाख २४ हजार खुद बचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

साधारण सभामा हिमशिखर टेलिभिजनका पत्रकार जीवनप्रसाद गुरागाई (ज्योति शर्मा)लाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो। साथै, कर्मचारीहरू घनेन्द्रप्रसाद दुलाल र बोदराज खनाललाई पनि नगदसहित सम्मान गरिएको थियो ।उर्लाबारी खानेपानी आयोजनाले ३५ जना स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको संस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय