उर्लाबारी । निजी तथा आवासीय विद्यालयहरूको साझा संगठन उर्लाबारी नगर प्याब्सनको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिताको सम्पन्न भएको छ ।
उर्लाबारी–५ स्थित सुनगाभा बोर्डिङ स्कुलको सभाहलमा आईतबार आयोजित प्रतियोगितामा २३ वटा निजी विद्यालयहरूबाट सिनियर र जुनियर समूह गरी ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा सिनियर समूहतर्फ उत्कृष्ट ५ जना र जुनियर समूहतर्फ उत्कृष्ट ७ जना विद्यार्थीलाई आगामी जेठ २९ गते हुने जिल्ला स्तरीय चित्रकला प्रतियोगिताका लागि छनोट गरिएको छ।
आज भएको सिनियर तर्फको प्रतियोगितामा उर्लाबारी ७ को नेपाल आदर्शकी नेहा चौलागाईं प्रथम भएकी छन भने मोरङ मोडल आ मावि बाट कृष्मा श्रेष्ठ द्दुतिय र कुडोस बिद्यासदन कि खुशी राई तृतीय हुन सफल भएका छन । त्यसै गरि प्रतियोगिताको जुनियर तर्फ उर्लाबारी ३ को सनसाईन ईङलिस बोर्डिङ स्कुलका सौरभ कटुवाल प्रथम भए भने उर्लाबारी लिटिल एङ्गल इङ्लिस बोर्डिङ स्कुलकि लिडिया थापामगर दोस्रो र सुनगाभा आ माविका दिपन भण्डारीले तृतीय स्थान हासिल गरेका छन ।
बिजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूद्वारा ट्रफी (सिल्ड) वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख सालिग्राम काफ्लेले सहभागी सबै विद्यार्थी, विद्यालय र आयोजकलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताहरूले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उर्लाबारी नगर प्याब्सनका अध्यक्ष सुर्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालयका संस्थापक, प्रिन्सिपल तथा सञ्चालकहरूको उपस्थिति रहेको थियो।
आज उपाधी जित्ने प्रतियोगीले आगामी जेठ २९ गते हुने जिल्ला प्रतियोगिता भाग लिन पाउने छन ।

