उर्लाबारी । सामाजिक कार्यमा अग्रणी स्थान ओगट्न सफल सामुदायिक विकास मञ्च, उर्लाबारीले आफ्नो २७औं वार्षिकोत्सव दुई दिनसम्म विविध कार्यक्रम गर्दै भव्य रूपमा सम्पन्न गरेको छ।
उर्लाबारी–६ स्थित माहारुद्र शिवालय मन्दिरको प्राङ्गणमा बिहीबार आयोजित रक्तदान तथा कानुनी शिक्षा कार्यक्रमसँगै शुक्रबार अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितासहित कार्यक्रमको समापन गरिएको हो।
बिहीबारको रक्तदान कार्यक्रममा ९५ प्रिंन्ट रगत संकलन गरिएको थियो। सोही दिन साँझ ‘प्रहरीसँग कानुनी शिक्षा’ शीर्षकको कार्यक्रम अन्तर्गत घरेलु हिंसा र लागूपदार्थ दुव्यर्सन विरुद्ध प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिएको थियो।
त्यसैगरी शुक्रबार भएको अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा १२ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा उर्लाबारी–४ को सप्तकोशी आ मावि प्रथम पशुपति आ मावि दोस्रो र राधिका मावि तेस्रो हुन सफल भएका थिए भने सान्त्वना पुरस्कर नेपाल दर्शनले प्राप्त गरेको छ ।
मंचका अध्यक्ष प्रेम बोहोराको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख सालिग्राम काफले तथा विशेष अतिथिमा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणी पौडेल रहनु भएको थियो । दुईदिन सम्म संचालन भएको कार्यक्रममा विभिन्न सामाजिक ब्याक्तित्व , सुरक्षाकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
झण्डै ३५ वर्षअघि स्थानीय समाजसेवी राजु बुढाथोकीको संयोजकत्वमा गठन भएको समाज कल्याण युवा समूहलाई रुपान्तरण गरी २०५५ सालमा आधिकारिक रूपमा दर्ता भएर सामाजिक कार्य गर्दै आएको सामुदायिक विकास मञ्चले निरन्तर रूपमा सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ।
मञ्चले प्रत्येक वर्ष ‘उर्लाबारी रन’ जस्ता नगरकै पहिचानसंग जोडिएको कार्यक्रमको आयोजना गर्दै आएको छ भने नगर सरसफाइ, स्वास्थ्य शिविरलगायत दर्जनौं सामाजिक कार्यहरू सञ्चालन गर्दै स्थानीय स्तरमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

