काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि यातायात व्यवस्था विभागले सबै सेवा बन्द गरेको जनाएको छ। विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएको र समस्या समाधानको कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द गरिएको जानकारी दिएको हो। असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली लगायतका सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ।
हाल सवारी चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीलाई अनलाइन फाराम भर्न, ट्रायल परीक्षा दिन वा नयाँ लाइसेन्स प्रिन्ट गर्नसमेत असहज भएको छ। विभागले समस्याको समाधान कार्य तीव्र गतिमा भइरहेको बताएको छ।
यसले सेवाग्राहीमा असर पार्ने भएकाले विभागले समस्या समाधान भएपछि पुनः सूचना प्रकाशित गर्ने बताएको छ। यसबीचमा सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालय नआउन विभागले आग्रह गरेको छ।

