उर्लाबारी । पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले सञ्चालन गरेको एचपिभी खोप अभियानमा उर्लाबारी नगरपालिकाका ३ हजार ८ सय ६१ जना किशोरीहरूले खोप लगाएका छन्।
गत माघ २२ गतेदेखि सुरु भएको खोप अभियान मंगलबार सम्पन्न भएको हो। अभियानमा ४ हजार १ सय ११ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो। तर, लक्ष्यभन्दा २५० जना कम किशोरीहरूले मात्र खोप लगाएका छन्।
सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरू र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी अभियान सञ्चालन गरेको हो।
उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश खड्काका अनुसार, विभिन्न वडामा खोप अभियानको सहभागिता यस प्रकार रहेको छ:
उर्लाबारी–१ मा २७४ जना
उर्लाबारी–२ मा ४५१ जना
उर्लाबारी–३ मा ३४५ जना
उर्लाबारी–४ मा ५०१ जना
उर्लाबारी–६ मा १०२० जना
उर्लाबारी–७ मा ५६२ जना
उर्लाबारी–८ मा ३७३ जना
उर्लाबारी–९ मा २७५ जना किशोरीहरूले खोप लगाएका छन्।स्वास्थ्य शाखाका प्रमुख खड्काले खोप अभियानलाई सफल बनाउन स्थानीय तह, विद्यालयहरू, अभिभावक र स्वास्थ्यकर्मीहरूको सक्रिय भूमिका रहेको बताए।
नेपालमा हरेक दिन औसतमा चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने तथ्यांक सार्वजनिक गरिएको छ। यस्तो खालको खोप अभियानले किशोरीहरूलाई क्यान्सरको जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूको विश्वास छ।

