उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–४ हुँदै वडा नं. ८ जोड्ने उर्लाबारीकै सबैभन्दा पुरानो भानु मार्ग वर्षौंदेखि निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती भोग्न बाध्य भएका छन्। वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेपछि पैदल यात्रु, विद्यालय जाने विद्यार्थी, मोटरसाइकल तथा अन्य सवारीसाधन सञ्चालन गर्नसमेत कठिनाइ भइरहेको छ।

सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन केही दिनअघि स्थानीयवासीले सडकमै धान रोपेर सांकेतिक विरोधसमेत जनाएका थिए। वर्षौंदेखि सडकको अवस्था जस्ताको तस्तै रहँदा स्थानीयमा निराशा र असन्तुष्टि बढ्दै गएको छ।

स्थानीयको भनाइमा उर्लाबारीमा विभिन्न विकास निर्माणका काम भए पनि ऐतिहासिक महत्व बोकेका पुराना सडकहरू भने अझै उपेक्षामा परेका छन्। नगरकै पुरानो सडकमध्ये एक मानिने भानु मार्गको अवस्था त्यसैको उदाहरण भएको उनीहरूको गुनासो छ।

करिव एक बर्ष अघि विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित सालबारी सडक आयोजना समयमै सम्पन्न गरेको आधारमा उर्लाबारी नगरपालिका देशकै उत्कृष्ट तीन स्थानीय तहमध्ये पर्न सफल भएको थियो। त्यसपछि विश्व बैंकले नगरको पूर्वाधार विकासका लागि थप लगानी गर्ने निर्णय गरेको जानकारी नगरपालिकाले दिएको थियो।

सोही कार्यक्रमअन्तर्गत उर्लाबारी–४ र ८ मा पर्ने भानु मार्ग निर्माणका लागि करिब २० करोड ८० लाख रुपैयाँ अनुदान प्राप्त हुने र पहिलो चरणमा भानु स्कुल देखि बहादुर बाबा क्षेत्रसम्म करिब ३ हजार २ सय मिटर सडक निर्माण गरिने योजना रहेको भन्दै केही महिनाअघि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिएका थिए।

तर त्यसयता उक्त योजना अघि बढ्न सकेको छैन। स्थानीयका अनुसार जेन्जी आन्दोलनपछि योजना रद्द भएको बुझिएको छ, यद्यपि यसबारे सम्बन्धित निकायबाट औपचारिक स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

वर्षौंदेखि सडकको समस्या झेलिरहेका स्थानीय अहिले एउटै प्रश्न गरिरहेका छन्— “भानु मार्ग आखिर कहिले बन्छ?” उनीहरूले योजना अन्योलमा राख्नुको सट्टा यथाशीघ्र स्पष्ट निर्णय गर्दै सडक निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय