उर्लाबारी। सञ्चार क्लब नेपाल, उर्लाबारी–मोरङले सामाजिक सञ्जालमार्फत पत्रकार तथा पत्रकारिता पेशामाथि लक्षित गरी फैलाइएका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा क्लबले उर्लाबारी नगरपालिका–६ निवासी धनुष महतोले जनसरोकारका विषय उठाउने पत्रकारहरूमाथि आधारहीन आरोप लगाउने, गालीगलौज गर्ने तथा अपशब्द प्रयोग गरी पत्रकारिताको मर्यादा र आचारसंहिता विपरीत गतिविधि गरेको जनाएको छ। साथै, व्यक्तिको प्रतिष्ठा र सामाजिक जीवनमा आँच पुर्‍याउने उद्देश्यले विभिन्न भ्रामक भिडियो सामग्री निर्माण तथा सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

क्लबले सञ्चारमाध्यम कुनै व्यक्ति वा समूहको दबाब वा इच्छाअनुसार नभई पत्रकारिताको आचारसंहिता, सत्यतथ्य र सम्पादकीय स्वतन्त्रताका आधारमा सञ्चालन हुने स्पष्ट पारेको छ। जनसरोकार र जनअपेक्षासँग सम्बन्धित विषयलाई जिम्मेवारीपूर्वक उठाउनु सञ्चारमाध्यमको दायित्व भएको उल्लेख गर्दै पत्रकारलाई नियोजित रूपमा बदनाम गर्ने, भ्रम फैलाउने र पत्रकारितामाथि प्रहार गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ।

विज्ञप्तिमार्फत सञ्चार क्लब नेपालले सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न कडा आग्रह गरेको छ। अन्यथा प्रचलित कानून, विशेषगरी विद्युतीय कारोबार ऐनलगायत सम्बन्धित कानुनी व्यवस्थाअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

साथै, क्लबले आम नागरिकलाई अपुष्ट, भ्रामक तथा भ्रम सिर्जना गर्ने सामग्रीको पछि नलाग्न आग्रह गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिताप्रति आफू सधैं प्रतिबद्ध रहने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय