टीका सिम्खडा/ उर्लाबारी
मानिसका अनेकौँ सपना र चाहना हुन्छन्। कसैको सपना खेलाडी बन्ने हुन्छ, कसैको कलाकार बन्ने, त कसैको समाजका लागि केही गर्ने। तर जीवनको यात्रामा सबै सपना एउटै बाटोबाट पूरा हुँदैनन्। कतिपय सपनाले समयसँगै नयाँ रूप लिन्छन् र मानिसलाई उसले कल्पना नगरेको परिचयसम्म पुर्याउँछन्। यस्तै एउटा सुन्दर यात्रा हो—उर्लाबारीका मनोज तामाङको।
बाल्यकाल देखिनै फुटबलमा अत्याधिक रुचि भएका मनोज परिवारको चाहना र आफन्तको आग्रहमा भारतीय सेनामा भर्ती हुने उद्देश्यले विक्रम संवत् २०५७ सालमा दार्जिलिङ पुगेका थिए । तर त्यतिबेला नेपालमा जारी माओवादी द्वन्द्वका कारण नेपाली नागरिक भएकै आधारमा उनले भारतीय सेनामा भर्ती हुने अवसर पाएनन्। त्यसपछि त्यहा स्थित ठुलिआमाको घरमा बसेर होटल मेनेजमेन्ट पढाइ सकेर एक प्रतिष्ठित होटलमा जागिर पनि खाए । तर ५/७ बर्ष दार्जिलिङको बसाई पछि नेपाल फर्किएका उनको तनमन फुटबल बाट हटेको थिएन । आँगनमै खेल मैदान भएकाले फुटबल उनको दैनिकीको एउटा हिस्सा थियो। साथीहरूसँग फुटबल खेल्दै, प्रतियोगिता हेर्दै र खेलाडी बन्ने रहर बोकेर हुर्किएका मनोजले समयसँगै आफ्नो सपनालाई नयाँ बाटो दिए। फुटबलप्रतिको त्यही मोहले उनलाई अन्ततः खेलाडीभन्दा फरक भूमिकामा उभ्यायो— फुटबल मैदानको निष्पक्ष पहरेदार अर्थात् रेफ्रीका रूपमा।
सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्ने र प्रतियोगिता हेर्ने मनोजको मनमा फुटबल प्रतिको आकर्षण भएपनि उनलाई खेलाडीबाट रेफ्रीको यात्रातर्फ डोर्याउने महत्वपूर्ण व्यक्तित्व थिए—फुटबलर तथा तत्कालीन एन्फा मोरङ अध्यक्ष दिपेन्द्र धिमाल ‘डाइबर’। धिमालको प्रेरणा र हौसलाले मनोजलाई रेफ्री बन्ने बाटोमा अघि बढायो।
विक्रम संवत् २०४२ साल चैत ७ गते अकल बहादुर तामाङ र भीमकुमारी तामाङका जेठा सुपुत्रका रूपमा जन्मिएका मनोजको जीवन खेलकुदमा मात्र सीमित छैन। खेलकुद, सामाजिक सेवा तथा नेपाली कला–संस्कृतिप्रतिको प्रेम र सक्रियताले उनको व्यक्तित्वलाई अझ फराकिलो बनाएको छ।
विक्रम संवत् २०७२ सालमा इलाममा आयोजित कोशी प्रदेशस्तरीय एन्फा रेफ्री कोर्स पूरा गरेपछि उनको सपना औपचारिक यात्रामा परिणत भयो। प्रशिक्षणपछि इलामको चुलाचुलीमा आयोजित प्रथम चुलाचुली गोल्डकप तथा कोका–कोला इन्टर स्कुल फुटबल प्रतियोगिताबाट उनले रेफ्रीका रूपमा आफ्नो औपचारिक यात्रा सुरु गरे।
त्यसपछि सुरु भएको उनको रेफ्री यात्रा निरन्तर अघि बढिरहेको छ। मोरङ जिल्ला ‘ए’ डिभिजन लिगदेखि बेलबारी मेयर कप, पथरी मेयर कप, मिक्लाजुङ अध्यक्ष कप, रतुवामाई मेयर कप, भेट्रान कप र राष्ट्रपति रनिङ सिल्डसम्मका विभिन्न प्रतियोगितामा उनले रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्। हालै उर्लाबारी–३ स्थित सालबारी रंगशालामा सम्पन्न कोशी प्रदेशस्तरीय प्रथम उर्लाबारी उपमेयर कप महिला फुटबल प्रतियोगितामा समेत उनले महत्वपूर्ण जिम्मेवारी सम्हाले।
सयौँ नकआउट तथा दर्जनौँ लिग प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका मनोजका लागि मैदान केवल खेल हुने ठाउँ मात्र होइन निष्पक्षता, अनुशासन र जिम्मेवारीको परीक्षा हुने ठाउँ पनि हो।
फुटबल मैदानमा खेलाडीको नजर बलमा हुन्छ, प्रशिक्षकको नजर खेलाडीमा र दर्शकको नजर रोमाञ्चक क्षणमा। तर यी सबैको बीचमा रेफ्रीमाथि सबैको नजर हुन्छ। उनको एउटा निर्णयले खेलको दिशा बदलिन सक्छ। त्यसैले रेफ्री बन्न केवल सिठी बजाउन जान्नु पर्याप्त हुँदैन; नियमको गहिरो ज्ञान, निरन्तर सजगता, धैर्य, आत्मविश्वास र निष्पक्ष निर्णय क्षमता आवश्यक हुन्छ। मनोजले यही चुनौतीलाई वर्षौँदेखि आत्मसात् गर्दै आएका छन्।
मोरङ जिल्ला फुटबल रेफ्री संघका महासचिवसमेत रहेका मनोज मैदानमा अनुशासन र नियमको पक्षमा उभिन्छन्। खेलाडीको उत्साह, प्रशिक्षकको दबाब र दर्शकको भावनाबीच पनि निष्पक्ष निर्णय लिन सक्नु उनको जिम्मेवारी हो। यही जिम्मेवारीलाई उनले आफ्नो पहिचान बनाएका छन्।
तर मनोज तामाङको परिचय फुटबल मैदानको रेखाभित्र मात्र सीमित छैन। उनी कोशि प्रदेशमा आयोजना हुने विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका सक्रिय उद्घोषक पनि हुन्। स्पष्ट बोली, सहज प्रस्तुति र कार्यक्रमलाई जीवन्त बनाउन सक्ने क्षमताका कारण उनले कला तथा संस्कृतिको क्षेत्रमा पनि छुट्टै पहिचान बनाएका छन्।
सामाजिक क्षेत्रमा उनको सक्रियता पनि उत्तिकै उल्लेखनीय छ। उर्लाबारी युवा क्लबको सचिवको जिम्मेवारी दुईपटक सम्हालिसकेका उनी हाल उपाध्यक्षका रूपमा सक्रिय छन्। युवालाई खेलकुदसँग जोड्ने, सामाजिक गतिविधिमा सहभागी गराउने र समुदायका विभिन्न अभियानमा योगदान पुर्याउने काममा उनी निरन्तर लागिरहेका छन्।
नेपाली कला, संस्कृति, परम्परा र संस्कारप्रति गहिरो सम्मान राख्ने मनोज नेपाल तामाङ घेदुङ उर्लाबारी नगर समितिका कार्यसमिति सदस्यसमेत हुन्। यस भूमिकामार्फत उनी आफ्नो समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनका गतिविधिमा समेत जोडिँदै आएका छन्।
उनको यात्रामा परिवार, अग्रज र शुभेच्छुकहरूको साथ पनि उत्तिकै महत्वपूर्ण छ। मामा–माइजु डा. सन्तमान तामाङ, सजन तामाङ र मनिष तामाङलगायत परिवारजनको सहयोग तथा बरुण लाबुङ, विकास राई र घनश्याम भण्डारीलगायत अग्रजहरूको मार्गदर्शनले आफुलाई यो यात्रामा अघि बढ्न थप ऊर्जा मिलेको ऊनी बताउछन ।
फुटबलप्रतिको रुचिले उनलाई मैदानसम्म पुर्यायो, मैदानले रेफ्री बनायो र रेफ्रीको यात्राले उनलाई समाजसँग अझ नजिक बनायो। आज उनी फुटबल रेफ्री मात्र होइनन्—उर्लाबारीको खेलकुद क्षेत्रका परिचित अनुहार, युवाका लागि प्रेरणाका स्रोत, सामाजिक अभियन्ता तथा कला–संस्कृतिका सक्रिय व्यक्तित्व हुन्।

