उर्लाबारी। उर्लाबारी–४ र ८ लाई जोड्ने भानु मार्गको जीर्ण अवस्थाप्रति स्थानीयवासीको असन्तुष्टि झन् चुलिएको छ। सडकको दीर्घकालीन स्तरोन्नतिको माग गर्दै स्थानीयले केही दिनअघि सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका थिए। त्यसपछि पनि समस्या समाधानतर्फ ठोस पहल नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
भानु मार्गको समस्या समाधानका लागि स्थानीयले लामो समयदेखि सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाउँदै आएका छन्। यही विषयमा थप ध्यानाकर्षण गराउन मंगलबार सुनिता खरेल ढकालको नेतृत्वमा स्थानीयवासीको टोली उर्लाबारी नगरपालिकामा पुगेको थियो। तर, त्यतिबेला मेयर र उपमेयर दुवै कार्यालयमा अनुपस्थित रहेपछि स्थानीय थप आक्रोशित बनेका थिए।
विरोधमा सहभागी स्थानीयका अनुसार वर्षायाम सुरु भएसँगै भानु मार्ग हिलाम्मे बन्ने, सडकभर पानी जम्ने र आवतजावत अत्यन्तै जोखिमपूर्ण हुने गरेको छ। दैनिक रूपमा यही बाटो प्रयोग गर्ने विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा सर्वसाधारणले सबैभन्दा बढी सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या दीर्घकालीन रूपमा समाधान नभएको बताएका छन्। उनीहरूले अस्थायी टालटुलमा सीमित नभई भानु मार्गको स्तरोन्नति गरी सुरक्षित, गुणस्तरीय र व्यवस्थित सडक निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्।
स्थानीयले माग सम्बोधन नभएसम्म आन्दोलन, खबरदारी तथा दबाबमूलक कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यो आन्दोलन कुनै व्यक्ति वा समूहको नभई हजारौं नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको साझा सरोकारको विषय हो ।
Sunita Kharel Dhakal

