नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका हुन् ।‘एक दिन पनि, एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन । ४ गते (असोज) देखि हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ,’ सभापति थापाले भने, ‘१६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं । हामी समयमा महाधिवेशन सम्पन्न गर्छौं ।’
संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसलाले बाँधिएकाले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्नेमा थापाको जोड थियो ।‘महाधिवेशनका बारेमा तिथि-मिति कहीँ कतै सर्छ कि, अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही साथीहरूले अलमलहरू राख्नुभएको मैले पाएँ,’ उनले भने, ‘हामी संविधानले पनि बाँधिएका छौं, पार्टीको विधानले पनि बाँधिएका छौं । सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौं ।’
सभापति थापाले कसैलाई पनि वञ्चित नगरिएकाले महाधिवेशनमा सबैको सहभागिता रहने पनि विश्वास व्यक्त गरे ।मलाई के विश्वास छ भने सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ,’ उनले भने, ‘कोही साथीलाई महाधिवेशनमा भागलिनबाट बञ्चित गरिएको छैन । सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ ।’ सभापति थापाले महाधिवेशनपछि ७७ वटै जिल्लाका गाउँ–गाउँ जाने पनि बताए । ‘महाधिवेशन सम्पन्न गर्न साथै हाम्रो काम भनेको ७७ जिल्ला पुग्छौं,’ उनले भने, ‘देशभरि जान्छौं । गाउँ–गाउँ जान्छौं ।’

