सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्दै आएकी महिलाको शंकास्पद मृत्युलाई लुकाउन सुटुक्क शवको दाहसंस्कार गरिएको घटना सार्वजनिक भएको छ ।
इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी २१ वर्षीया चन्दा चौधरीको शंकास्पद मृत्यु भएको हो । मृत्युपछि कसैलाई पनि जानकारी नै नदिइकन गुप्ताले सुटुक्क दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।
चौधरीको मृत्युका बारेमा गुप्ताले कसैलाई जानकारी दिएनन् । घटनाका बारेमा न आफन्तले खबर पाए । न त प्रहरीले नै थाहा पायो । आफन्त र प्रहरीलाई खबर नै नगरिकन ४ जना मलामी लगेर गुप्ताले बूढी खोला घाटमा अन्त्येष्टि गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।
‘घरेलु श्रमिकका रूपमा कार्यरत महिलाको मृत्यु भएपछि सुटुक्क दाहसंस्कार गरेको पाइयो । कसैलाई थाहै नदिइकन अन्त्येष्टि गरिएपछि घटना शंकास्पद देखिएको हो,’ उनले भने । भण्डारीका अनुसार घटना फागुन ९ गतेको हो ।
गुप्ताका अनुसार चौधरी फागुन ९ गते अचानक बिरामी परेकी थिइन् । बिरामी भएपछि उपचारका लागि भनेर गुप्ताले चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगेका थिए ।
चौधरीको अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको गुप्ताले बताए ।अस्पतालबाट शव बुझेर लगेपछि गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बूढी खोला घाटमा लगेर दाहसंस्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चौधरीको दाहसंस्कार गर्न अन्य ४ जनालाई मलामी पनि लगेको पाइएको छ ।
दाहसंस्कार गरेको भोलिपल्ट दिदी रीताले बाहिनीका बारेमा सोधीखोजी गरेकी थिइन् । ‘सोधीखोजी गर्दा बहिनीको मृत्यु भएर अन्त्येष्टि गरिसकेको थाहा भयो,’ उनले भनिन्, ‘हामी कसैलाई पनि खबर गरिएन ।’ बहिनीको मृत्यु भएर सुटुक्क दाहसंस्कार गरेको घटना शंकास्पद देखिएपछि रीताले प्रहरीमा जाहेरी दिइन् ।
‘सोधीखोजी गर्दा गुप्ताले आफैं जलाएँ भनेर जवाफ दिए । हामीलाई खबर भएन । प्रहरीलाई पनि थाहा रहेनछ । त्यसपछि प्रहरीमा जाहेरी दिएँ,’ उनले भनिन् । रीताका अनुसार पतिसँग सम्बन्धविच्छेद भएपछि बहिनी गुप्ताको घरमा काम गर्न बसेकी थिइन् ।
व्यापारीसमेत रहेका गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ । डीएसपी भण्डारीका अनुसार जाहेरी परेलगत्तै गुप्तालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई खबर नगरेको भण्डारीको भनाइ छ ।
उनका अनुसार मृतकको शव पनि हेर्न पाइएन । शवको पोस्टमार्टम पनि भएन । अस्पतालले खुलाए अनुसार अनुसन्धान अघि बढ्ने उनले बताए । आफन्तका अनुसार घरेलु कामदारका रूपमा राखेर गुप्ताले चौधरीलाई बारम्बार यातना दिने र कुटपिट गर्ने गरेका थिए ।

