उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टीले उर्लाबारी नगरपालिकाका सबै ९ वटै वडामा वडा अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेको छ। आज उर्लाबारी–१ मा सम्पन्न अन्तिम वडा अधिवेशनसँगै सम्पूर्ण वडा अधिवेशनहरू सभ्य र भव्य रूपमा सम्पन्न गरेको हो ।
उर्लाबारी–१ स्थित जेष्ठ नागरिक भवनमा सनिवार आयोजित वडा अधिवेशनले सुरज कार्कीलाई वडा सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। कार्कीको सभापतित्वमा ५ सदस्यीय वडा समिति गठन गर्दै पहिलो ऐतिहासिक वडा अधिवेशन पूर्ण सफलताका साथ सम्पन्न भएको हो।
आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङका जिल्ला सभापति भरत कडेल, उर्लाबारी नगर सभापति उमेश जंग थापा, नगर सचिव कुमार दाहाल लगायतको उपस्थिति रहेको थियो।
पार्टीका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि भरत कडेलले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिंदै संगठनलाई जनस्तरमा अझ मजबुत बनाउने कार्यमा सक्रिय योगदान दिन आग्रह गरेका थिए। उनले पार्टीको बढ्दो लोकप्रियता जनस्तरमा अझ व्यापक बनाउन वडा तहदेखि सशक्त अभियान सञ्चालन आवश्यक रहेको बताए।
यसैगरी, नगर सभापति थापाले वडा तहको संगठन सुदृढ भए मात्र पार्टीको बलियो आधार बन्ने भन्दै समर्पित ढंगले काम गर्न नव निर्वाचित टोलीलाई प्रेरणा प्रदान गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीले समावेशी, पारदर्शी र उत्तरदायी नेतृत्व निर्माणका लागि वडा तहदेखि नै लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउँदै लगेको जनाएको छ।

