मिक्लाजुङ । तराई क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक गर्मी बढेसँगै शीतल हावापानीको खोजीमा रहेका सर्वसाधारणको आकर्षण पहाडी भेगतर्फ बढेको छ। यसै क्रममा मिक्लाजुङ गाउँपालिका–१ स्थित रमिते पर्यटकीय क्षेत्र गर्मीयाममा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ।

समुद्री सतहदेखि करिब १,५०० मिटर उचाइमा रहेको रमिते क्षेत्र प्राकृतिक शीतलता, हरियाली डाँडाकाँडा, चिसो बतास र हिमश्रृंखलाको अनुपम दृश्यले भरिएको छ। गर्मी छल्ने प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको यस क्षेत्रले पछिल्ला केही वर्षमा उल्लेखनीय पर्यटन प्रवर्द्धन हासिल गरेको छ।

सडक पहुँचले थप सहजता रमितेमा पुग्न हाल उर्लाबारी–किसानचोक–टाँडी–रमिते सडकको निर्माण सम्पन्न भएसँगै पहुँच सजिलो बनेको छ। झण्डै २५ किलोमिटरको दूरी तय गर्दै उर्लाबारीदेखि रमितेसम्म दैनिक हजारौ मोटरसाइकल र साना सवारीसाधनमा पर्यटकहरू आउने गरेका छन्। प्राकृतिक सौन्दर्यका साथै सजिलो पहुँचले गर्दा रमिते अहिले मोरङको चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदैछ।

सूर्योदयदेखि हिमालसम्मको अवलोकन

रमिते डाँडाबाट देखिने सूर्योदय, सगरमाथा क्षेत्रका हिमश्रृंखला, शृङ्खलाबद्ध पहाडहरू, साथै उर्लाबारी, दमक, लेटाङ र पथरीजस्ता शहरको दृश्यले पर्यटकलाई मुग्ध बनाउने गरेको छ। रमिते घुम्न आउने जोकोही प्रकृतिसँग आत्मीयता अनुभव गर्दै फर्कन्छन्।

होमस्टे सेवा र स्थानीय उत्पादनले थप आकर्षण

गएको वर्षदेखि मिक्लाजुङ–१ आइतबारेमा सञ्चालनमा आएको ‘द टेण्ट टाउन् एण्ड होमस्टे’ले रमितेको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएको छ। यहाँ आउने पर्यटकहरूलाई स्थानीय रैथाने परिकार, अर्गानिक उत्पादन तथा ग्रामीण जीवनशैलीको अनुभव प्रदान गरिन्छ। निगुरो, बाँसको तामा, सिस्नोजस्ता जडीबुटीयुक्त मौसमी परिकार यहाँका विशेषता हुन्।

स्थानीय व्यवसायमा उत्साह

पर्यटकको चापसँगै स्थानीय व्यवसायीहरूले पर्यटन क्षेत्रबाट प्रत्यक्ष फाइदा उठाउँदै आएका छन्। होटल, लज, चिया–पसल, खाजा घरलगायतका सेवा व्यवसाय फस्टाउँदै गएका छन्। गाउँमै रोजगारी र आम्दानीको नयाँ सम्भावना खुलेको स्थानीयको अनुभव छ।

पूर्वाधार र प्रवर्द्धन आवश्यक

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमिते क्षेत्र अझ व्यवस्थित बनाउन पूर्वाधार विकास, पर्यटकीय सूचना प्रवाह र दीर्घकालीन योजनाबद्ध विकास आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। गर्मी छल्न उपयुक्त रमितेले यदि सही ढंगमा व्यवस्थापन पायो भने निकट भविष्यमा देशकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रवल छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय