विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिक जोडिने गरी बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले सरकारले बिमा नीतिका लागि कानुन बनाउने र सुविधा पनि दिने तर, जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नजाने बताए । उनले भने, ‘राज्यले बिमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर, सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन। त्यसतर्फ ध्यान दिनुपर्छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए । ‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं,’ उनले भने ।
कार्कीले बिमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बिमामा ध्यान दिनु पर्ने बताए । अहिले गम्भीर प्रकृतिका रोगहरूको बिमा गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले यसतर्फ अलि बढी जोड दिन आग्रह गरे ।
उनले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा जोड दिए । बिमा कम्पनीहरूले बिमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बिमाको प्रक्रिया लम्ब्याएर झन्झट दिँदै आमनागरिकलाई दुःख दिन नहुने धारणा राखेका छन् ।
नेपाल बिमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बिमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बिमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बिमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब ३ अर्बको प्रिमियर संकलन हुने र डेढ अर्बजति भुक्तानी हुने गरेको जानकारी दिए । कोशी प्रदेशका विभिन्न क्षेत्रमा कसरी बिमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय