२४ असार, रसुवा । सोमबार राती भोटेकोशी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।
बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।
भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार राती भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक पनि बगे कि भन्ने अनुमान छ । तर एकिन भइसकेको छैन,’ उनले भने । ‘प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको भन्ने छ । त्यहाँ केही मानिसहरु पनि फसेको जानकारीमा आएको छ । उद्धार टोली परिचालित भएको छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उनले बताए ।

