सिजुवा । धेरै लामो समयदेखि स्थानीयवासीको प्रतिक्षामा रहेको सपना आज औपचारिक रूपमा पुरा भएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको हुलाकी राजमार्ग (NH-05) गौरीगञ्ज-आमबारी सडक खण्ड अन्तर्गत रतुवाखोला पुलको आज भव्य समारोहबीच समुद्घाटन गरिएको छ।
समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोख्रेल, रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंह, गौरिगन्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजबंशी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो पुल निर्माणले स्थानीयवासीको दैनिकी सहज हुनुका साथै पूर्वी क्षेत्रको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले सडक सञ्जाललाई अझ सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको पनि उल्लेख गरेका छन्।
उक्त पुल बनेसँगै गौरीगञ्ज–आमबारी क्षेत्रका बासिन्दाले वर्षौंको कठिनाईबाट मुक्ति पाउने र यातायात थप सहज हुने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीयवासीहरुले पनि पुलको सफल निर्माणप्रति खुशी व्यक्त गर्दै सरकारले ल्याएका विकास योजना र भौतिक पूर्वाधारको निरन्तरतामा साथ दिने बताए।

