१० साउन । ईरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको एक अदालतमा भएको आक्रमणमा कम्तीमा पाँच जना सर्वसाधारणको ज्यान गएको र १३ जना घाइते भएका छन् ।
सिस्तान–बलुचिस्तानको राजधानी ज़ाहेदानस्थित उक्त भवनमा शनिबार बन्दूकधारीहरूले ह्याण्ड ग्रेनेड फ्याँकेका थिए, जसमा आमा र बच्चासहितका व्यक्तिहरूको ज्यान गएको हो । आक्रमणको क्रममा तीन जना आक्रमणकारीहरू पनि मारिएका छ्न ।
ईरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार पाकिस्तानमा आधारित तर ईरानमा पनि सक्रिय बालोच सशस्त्र समूह जैश अल अद्लले टेलिग्राममार्फत वक्तव्य जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ। उनीहरूले “सुरक्षाका लागि सबै सर्वसाधारणहरूलाई झडप भएको क्षेत्र तत्काल खाली गर्न” आग्रह गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले न्यायाधीशको कार्यकक्षमा आक्रमण गर्दा धेरै न्यायिक कर्मचारी र सुरक्षाकर्मीहरू मारिएका वा घाइते भएका छन्।
आकस्मिक उद्धारकर्मीहरू घटनास्थलमा रहेका छन् र घाइतेहरूलाई उपचार केन्द्रहरूमा लगिएको छ।
पाकिस्तान र अफगानिस्तानको सीमामा पर्ने सिस्तान–बलुचिस्तान प्रान्त ईरानको सुन्नी मुस्लिम बालोच अल्पसंख्यकको बासस्थान हो, जसले लामो समयदेखि आफूहरू आर्थिक रूपमा पछाडि पारिएको र राजनीतिक रूपमा बहिष्कृत गरिएको गुनासो गर्दै आएका छन्।
केही सशस्त्र समूहहरूले अधिकार र स्वायत्तताको लागि लडिरहेको दाबी गरेका छन्। ईरानी सरकारले तिनीहरूमध्ये केही समूहहरूलाई विदेशी सरकारहरूसँगको सम्बन्ध र आक्रमण तथा सीमापार तस्करीमा संलग्न भएको आरोप लगाउँदै आएको छ।

