टीका सिम्खडा
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट उर्लाबारीका भरत कडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा भरत कडेलले २ सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कोषराज खनालले १ सय ३४ मत प्राप्त गरे भने सागर फुयालले ५६ मत प्राप्त गरेका छन्।
मोरङको उर्लाबारी नगरपालिका वडा नं २ मा स्थायी बसोबास भएका कडेललाई पार्टी संगठन निर्माण, जनपरिचालन र प्रतिनिधि सभा निर्वाचन व्यवस्थापनमा खेलेको सक्रिय भूमिकाका कारण जिल्लामा रास्वपाको सफल नेतृत्वका रूपमा हेरिने गरिएको छ।
कडेलको नेतृत्वमा गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको थियो। उनकै नेतृत्वमा मोरङका सबै क्षेत्रमा रास्वपाले विजय हासिल गर्दा त्यसको मुख्य श्रेय कडेलको संगठन निर्माण क्षमता, रणनीतिक नेतृत्व र कार्यकर्ता परिचालनलाई दिइएको थियो।
निर्वाचन अवधिभर उनले उम्मेदवार, नेता तथा कार्यकर्तालाई प्रभावकारी रूपमा परिचालन गर्दै गाउँ–गाउँमा जनसम्पर्क अभियान सञ्चालन गरेका थिए। उनको नेतृत्वमा भएको घरदैलो कार्यक्रम, मतदाता भेटघाट तथा सुशासन र पारदर्शिताको सन्देशले आम मतदातामाझ सकारात्मक प्रभाव पारेको पार्टीका नेता–कार्यकर्ताहरू बताउँछन्।
विवेकशील साझा पार्टीको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका कडेल २०७९ सालमा रास्वपामा प्रवेश गरेका थिए। त्यसयता उनले मोरङमा पार्टीको संगठन विस्तार, नयाँ सदस्य निर्माण तथा जनविश्वास अभिवृद्धिका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
हँसिलो स्वभाव, सरल कार्यशैलीका कारण कार्यकर्तामाझ लोकप्रिय रहेका कडेलको नेतृत्वमा रास्वपा मोरङले छोटो समयमै जिल्लाको राजनीतिक वृत्तमा बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ। उनको नेतृत्वले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको राजनीतिक वृत्तको बुझाइ छ।
शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै कडेलले संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्रको एकता, संगठन विस्तार र जनअपेक्षाअनुसारको राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको भनाइ छ।
मोरङमा रास्वपाको पछिल्लो सफलतासँगै कडेलको नेतृत्वलाई पार्टीको आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

