उर्लाबारी नगरपालिकाका दुई वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न जिल्ला स्तरीय अनुगमन समितिले सहमति प्रदान गरेको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई नेतृत्वको टोलीले उर्लाबारी वडा नंं १ र ६ को अनुगमन गरी बालमैत्री घोषणाका लागि सहमति प्रदान गरेको हो । 
अनुगमन पश्चात हिजो (शुक्रबार) जिल्ला समन्वय समिति विराटनगरमा बसेको अनुगमन समितिको बैठकले बालमैत्री वडा घोषणाका लागि सहमति दिएको हो । जिसस प्रमुख राईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराई, जिसस उपप्रमुख उषा झा, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. १ र ६ का वडाध्यक्षहरु तिलक पाण्डे र चिन्तामणि पौड्याल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारी नगरपालिका सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बा, स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, शिक्षा शाखा अधिकृत अशोक घिमिरे, वडा नं. ६ का वडासचिव बालकुमार बराललगायतको उपस्थिति रहेको थियो ।

