उर्लाबारी । सेवा निवृत्त कर्मचारीहरूको सीप तथा कला समाजलाई खाँचो भएकोले नगरपालिकासँग समन्वय गरेर काम गर्न आग्रह गरिएको छ। निवृत्त राष्ट्र सेवक समाज नेपाल, उर्लाबारी नगर समितिको सोह्रौँ बार्षिक नगर परिषद् सभामा शुक्रबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सो कुरा बताएका हुन्। उनले लामो समयसम्म सरकारी सेवामा काम गरेर निवृत्त भएका कर्मचारीहरूलाई लक्षित गर्दै भ्रष्टाचारमुक्त र सीपयुक्त समाज बनाउन सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। नगर प्रमुख खरेलले यदि सचेत नागरिकले पनि अहिलेको अवस्थामा भौतिक विकाससँगै मानिसको स्वास्थ्यको विकासका लागि विभिन्न कामहरू गर्न नसके समाज तथा मुलुकले गति लिन नसक्ने बताएका छन्। उनले अहिलेका नेताहरु पञ्चायतकालका भन्दा छाडा भएको भन्दै नेतालाई सुध्रिन आग्रह पनि गरेका छन् । सो अवसरमा उनले भ्रष्टाचार गर्ने जो कोहीलाई सर्वस्वहरण हुने कानुन बनाइनुपर्ने बताएका छन् । त्यसैगरी नगर उपप्रमुख मिना कुमारी खतिवडा पौडेलले निवृत्त राष्ट्र सेवकहरूलाई कृषि कार्यमा विशेष ध्यान दिन आग्रह गरेकी छन्। सो कार्यक्रममा निवृत्त राष्ट्र सेवक समाज नेपालका उपाध्यक्ष झमक काफ्ले, सोही संस्थाका कोशी प्रदेश अध्यक्ष छत्रबाबु ओझा, जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रमोद निरौला, सोही संस्थाका उर्लाबारी ४ का अध्यक्ष लोकबहादुर कटुवाल, निवृत्त समाजका सुन्दर हरैंचा अध्यक्ष उमाकान्त चौलागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए। सो कार्यक्रममा संस्थाका नगर अध्यक्ष चुडामणि गौतमले प्रगति प्रतिवेदन, नगर कोषाध्यक्ष शिवराज खनालले आर्थिक प्रतिवेदन, लेखा संयोजक गोविन्दप्रसाद खतिवडाले लेखा प्रतिवेदन पेश गरेका थिए। सभामा उक्त संस्था स्थापना कालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मनप्रसाद भट्टराईलाई सम्मान समेत गरिएको थियो।
सो सभामा नगर अध्यक्ष गौतमको सभापतित्व टंक प्रसाद दाहालको सञ्चालन र उपाध्यक्ष शान्ता प्रधानको शुभकामना मन्तव्य रहेको थियो । सभामा कार्यालय सञ्चालनका लागि उर्लाबारी नगरपालिकाले २ लाख बराबरका कार्यालय व्यवस्थापनका लागि कम्प्युटर ,फर्निचरलगायतका सामानहरु हस्तान्तरण गरिएको थियो भने यस आर्थिक वर्षका लागि पनि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइएको थियो। उर्लाबारीबाट सुरु भएको उक्त संस्था नेपालका ६७ जिल्लामा पुगेको जनाइएको छ।

