उर्लाबारी , अति विपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उर्लाबारी नगरपालिकाले विपन्न जनता आवास निर्माण कार्यक्रम अन्तर्गत १० वटा घर निर्माण गरेको छ । ‘विपन्न जनता आवास’ कार्यक्रमअन्तर्गत नगरपालिकाले वडाबाट सिफारिस भएअनुसार नौ वटै वडामा एक÷एक वटा घर निर्माण गरेको छ भने वडा नं. ४ मा थप एक घर निर्माण सम्पन्न भएको छ । वडा नं. ३ मा निर्माण भएको घर आज हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले विष्णुमाया दर्जीलाई घरको चाबी हस्तान्तरण गर्नुभयो ।
विपन्न आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले स्थानीय सरकार गरिब तथा विपन्न नागरिकको पक्षमा रहेको बताउनुभयो । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा, स्वास्थ्य उपचारको पहुँच नभएकालाई स्वास्थ्य बिमालगायतका कार्य आफूहरुको मुख्य प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिका सडक, ड्रेन, कल्भर्ट निर्माणमा मात्र होइन, जनताका आधारभुत आवश्यकता पूरा गर्न पनि प्रतिबद्ध रहेको छ ।’ पूर्वाधार विकाससँगसँगै सामाजिक विकासको पनि आवश्यकता रहेको उहाँले बताउनुभयो ।
यस्तै, नगर उपप्रमुख मीना खतिवडा पौडेलले विपन्न नागरिकलाई प्राथमिकतामा राखेर नगरपालिकाले जनताको चाहनाअनुसारको विकास गर्दै अघि बढेको बताउनुभयो । घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको बताउँदै उहाँले आगामी दिनमा अन्य विपन्न समुदायको आवास निर्माणका लागि पनि पहल गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष भीष्मराज बुढाथोकीले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्था नरहेका विपन्नको घर निर्माण गरिदिएको बताउनुभयो । उहाँले यस कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । घर हस्तान्तरणपछि घरवेटी विष्णुमाया दर्जीले भन्नुभयो, ‘घर बनाइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ, नगरपालिकाले बनाइदिनुभयो । धेरै धेरै धन्यवाद ।’ उहाँले थप्नुभयो, ‘नगरपालिकाले हाम्रो समस्या बुझेछ, खुसी लागेको छ ।
’ कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मित्रप्रसाद ढकाल, स्थानीयवासी दिपक थपलियालगायतले मन्तव्य राख्नुभएको थियो । निर्माण समितिका सदस्य मणि देवानले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव पिपलराज गिरीले गर्नुभएको थियो । दुई कोठा र एक किचनसहितको आवास ६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय