२३ साउन/ उर्लाबारी
उर्लाबारी वडा नम्बर ४ विशाल टोलका दृष्टिविहिन होमबहादुर बयलकोटी तथा अपाङ्गता भएकी एकल महिला दुर्गा सार्कीलाई उर्लाबारी नगरपालिकाले घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

दुई कोठा र एक किचनसहितको घर निर्माण सम्पन्न भई बुधबार एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल तथा उपमेयर मीना खतिवडा पौडेलले दुई घरको चाबी सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर खरेलले स्थानीय सरकार गरिब तथा विपन्न नागरिकको पक्षमा रहेको बताए । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा, स्वास्थ्य उपचारको पहुँच नभएकालाई स्वास्थ्य बिमालगायतका कार्य आफूहरुको मुख्य प्राथमिकतामा रहेको उनले बताए । मेयर खरेलले भने, ‘नगरपालिका सडक, ड्रेन, कल्भर्ट निर्माणमा मात्र होइन, जनताका आधारभुत आवश्यकता पूरा गर्न पनि प्रतिबद्ध रहेको छ ।’ पूर्वाधार विकाससँगसँगै सामाजिक विकासको पनि आवश्यकता रहेको उनले बताए ।

यसअघि उर्लाबारी नगरपालिकाले उर्लाबारी ३ मा विष्णुमाया दर्जीलाई घर निर्माण गरी हस्तान्तरण गरिदिएको छ । यस्तै बाँकी सात परिवारलाई क्रमशः घर उपलब्ध गराइने बताइएको छ ।

विशाल टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तामाङको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया कडरियाले स्वागत मन्तव्य राखेकी थिईन् भने वडा सदस्य शेखरनाथ दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु अमृता नेपाली, सुरेन्द्र न्यौपाने, वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायत स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।

घर हस्तान्तरण गरिएको विपन्न दुर्गा सार्कीलाई वडाध्यक्ष कल्याणकुमार राई र टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तामाङले ग्यास सिलिण्डर र चुलो, व्यवसायी सुनिल बोहोराले किचनमा आवश्यक केही सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष कल्याणकुमार राईले उक्त कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय