उर्लाबारी,
उर्लाबारी उद्योग वाणिज्य संघको चुनावको चर्चा तात्दै गर्दा, यो निर्वाचनमा देखा परेको व्यापारीभन्दा राजनीतिक हावी हुने प्रवृत्तिले समाजको ध्यान खिचेको छ। व्यापार व्यवसाय सन्चालन गर्नुपर्ने संघमा राजनीति दलहरूको हस्तक्षेपले गम्भीर प्रश्न उठाएको छ।
व्यापारीहरूको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायको प्रवर्द्धन र संरक्षण हुनुपर्छ, तर अहिलेको अवस्था भने राजनीति गर्ने चङ्गुलमा फसेको देखिन्छ। राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिहरूलाई स्थापित गराउने होडमा व्यापारीको हितभन्दा पार्टीको स्वार्थलाई प्राथमिकता दिइरहेका छन्। संघको चुनावलाई व्यवसायीकरण गरेर होइन, राजनीतीकरण गरेर आफूलाई बलियो बनाउने खेल भइरहेको छ।
अझ रोचक कुरा त के छ भने, धेरै व्यापारीहरू व्यापार व्यवसाय सन्चालन गर्न कठिनाइ महसुस गर्दै सटर बन्द गरेर भाग्न बाध्य भएका छन्। यस्ता व्यापारीहरूको समस्या समाधान गर्ने कुनै ठोस योजना वा कार्यक्रम भने कहीँ कतै देखिदैन। संघले तिनको समस्यामा ध्यान दिनुपर्ने ठाउँमा चुनावी दौडमा लाखौँ रुपैयाँ खर्च गरेर विजय हासिल गर्न लागिपरेका छन्। यो प्रवृत्ति व्यापारीहरूलाई सशक्त बनाउन होइन, बरु उनीहरूको समस्या बल्झाउन मद्दत गरिरहेको छ।
निर्वाचनमा कतै राजनीतिक दलहरूको गठबन्धन छ भने स्वतन्त्र उम्मेदवारहरू पनि देखा परेका छन्। यसले चुनावमा स्वस्थ प्रतिस्पर्धाको संकेत गरे पनि, अन्ततः व्यापारको मुद्दालाई गौण बनाई राजनीति नै हावी हुने खतरा प्रकट भएको छ।
कांग्रेसमा देखिएको गुटबन्दी पनि चिन्ताजनक छ। यो गुटबन्दीले व्यापारी समुदायलाई विभाजित गर्दैछ, जसले संघको प्रभावकारिता र उद्देश्यलाई कमजोर पार्न सक्छ। यदि व्यापारिक नेतृत्व राजनीति दलहरूको गुटबन्दीको अधीनमा रहन्छ भने, यसले व्यापारीहरूको समस्या समाधान होइन, अझै जटिल बनाउन मद्दत गर्छ।
यसरी चुनावको मूल उद्देश्य व्यापारीहरूको हितमा परिवर्तन र सुधार ल्याउने हो, तर यो उद्देश्य पछाडि पर्न थालेको छ। राजनीतिक प्रभावलाई व्यापारिक संघमा घुस्न नदिन र व्यापार व्यवसायका समस्या सम्बोधन गर्न सबै व्यापारीहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ। संघको निर्वाचनले केवल नेतृत्व चयन गर्ने होइन, व्यापारिक समस्या समाधानको दिशामा सार्थक पहल गर्ने लक्ष्य राख्नुपर्छ।
व्यापारीहरूको समस्या सम्बोधन गरेर, उनीहरूलाई सशक्त बनाउनतर्फ संघले प्राथमिकता दिनु आवश्यक छ। चुनावमा राजनीतिक हावी हुनु भन्दा व्यापार व्यवसायको प्रवर्द्धनमा केन्द्रित रहनु नै दीर्घकालीन सफलताको मार्ग हो।

