ऋषिकेश खनाल,
मोरङको उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयले सोमबार एक भव्य विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा विगत ५२ वर्षदेखि लेखा शाखामा कार्यरत डम्बर भट्टराई, ३४ वर्षदेखि शिक्षण पेशामा कार्यरत अनिवार्य अवकाश प्राप्त सर्सुदेवी गुरुङ, र २५ वर्ष शिक्षण सेवा पछि स्वेच्छिक अवकाश लिएका नर्वदा श्रेष्ठलाई विद्यालयले सम्मानका साथ विदाइ गरेको छ। उनीहरुलाई दोसल्ला, प्रमाणपत्र, र मायाको चिनो प्रदान गर्दै विद्यालयले सम्मान गरेको हो।


यस अवसरमा, विद्यालयमा नव नियुक्त शिक्षकहरू विनिता पाण्डे, पदम गौतम, नवीन बाँस्कोटा तथा सरुवा भएर आएका शिक्षक पदम लुइँटेललाई पनि स्वागत गरिएको छ। सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रममा प्रधानाध्यापक कुमार पोख्रेलले कार्यक्रमको औचित्यमा प्रकाश पार्नुभयो। विदाइ मन्तव्य सूचना अधिकृत तथा शिक्षक ऋषिकेश खनालले राख्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमु (लिम्बू)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा रहँदा आफूले गरेका अनुभवहरू बाँड्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ। कार्यक्रमको सञ्चालन विदाइ तथा स्वागत समारोह समितिका संयोजक तथा शिक्षक रीता घिमिरेले गर्नुभएको थियो।
यस अवसरमा, विद्यालयले दीर्घ सेवा पुर्याएका लेखा कर्मचारी डम्बर भट्टराईलाई रु. ६,००,०००/- (छ लाख) नगद चेक हस्तान्तरण गर्दै कर्मचारीलाई खाली हात जानुपर्ने परम्पराको अन्त्य गर्दै उच्च सम्मान प्रदान गरेको छ।

