उर्लाबारी, १५ असोज
उर्लाबारी नगरपालिकाले नगरका २७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज नगरपालिकामा आयोजित कार्यक्रममा ९० वर्ष उमेर पूरा भएका नगरका ९ वटा वडाका ३÷३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
‘सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा २७ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप दोसल्ला ओढाइ, मह र घिउ प्रदान गरिएको छ । नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले उहाँहरुलाई सम्मान गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख खरेलले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक रहेको बताउँदै उहाँहरूको सीप र ज्ञानलाई उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाजको रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर नभई सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले ज्येष्ठ नागरिकले आफ्नो जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएको बताउँदै उहाँहरुको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गर्नु आवश्यक रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा परिवारबाट नै ज्येष्ठ नागरिकहरु अपहेलित हुने क्रम बढेको पाइएको बताउँदै उहाँले यसरी अन्यायमा पर्नुभएका ज्येष्ठ नागरिकलाई न्याय दिलाउन नगर न्यायिक समिति सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय अध्यक्ष प्रमोद निरौला, उर्लाबारी नगर अध्यक्ष पदमप्रसाद गौतमलगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका पदाधिकारी तथा सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा वर्षेनि सम्मान कार्यक्रम गर्दै आएको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिनुभयो ।

