उर्लाबारी, कार्तिक – मैथिली समाज सेवा समिति उर्लाबारीले आउँदै गरेको छठ पूजा कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने उद्देश्यले विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ।

कार्तिक २२ र २३ गते हुने छठ पूजाका लागि तयारीबारे छलफल गर्न आयोजित कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
कार्यक्रममा अन्य अतिथिहरुमा उर्लाबारी नगरपालिका वडा नं. ७ की अध्यक्ष उर्मिला थापा, नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा माओवादी केन्द्र उर्लाबारीका नगर अध्यक्ष गजेन्द्र दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीका सभापति उमेश जंग थापा, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रतिनिधि मचिन्द्र लिम्बू, र सशस्त्र प्रहरी बल उर्लाबारीका प्रमुख मौसम पोखरेल लगायतका विभिन्न सामाजिक व्यक्तित्वहरु सहभागी भएका थिए।
नेकपा माओवादी केन्द्र उर्लाबारीका नगर अध्यक्ष गजेन्द्र दंगालले छठ पूजामा पटाका जस्ता प्रदूषक वस्तुहरु प्रयोगमा प्रतिबन्ध लगाउन मैथिली समाजलाई आफैं सचेत हुनुपर्ने सुझाव दिए। यसैगरी, अन्य वक्ताहरुले छठ पूजाको क्रममा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिनुपर्ने कुरा उठाए।
कार्यक्रमको अध्यक्षता मैथिली समाज सेवा समिति उर्लाबारीका अध्यक्ष पवन चौधरीले गरेका थिए भने कार्यक्रम सञ्चालन समितिका सचिव सुजित सिंह राजपुतले गरेका थिए। उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेलले नगरपालिकाको सिमित बजेटका बाबजुद छठ पूजाका लागि ३ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए। छठ पूजा सम्पन्न गर्न अनुमानित लागत १० लाख रुपैयाँ रहने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
छठ पूजा कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनको लागि यस छलफल कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

