उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरूमा निःशुल्क दुर्घटना बीमा कार्यक्रमप्रति आकर्षण बनेको छ। तारामान लिम्बुको नेतृत्वमा निर्वाचित समितिले घोषणापत्र अनुसार यो कार्यक्रम लागू गरेको हो। समितिले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडमार्फत प्रत्येक व्यवसायीलाई २ लाख रुपैयाँसम्मको बीमा गरिएको संघका अध्यक्ष लिम्बुले शुक्रबार बताएका छन्।
संघमा आर्थिक वर्ष २०८०/०८१ मा नवीकरण गरेका १ हजार २ सय १२ जना व्यवसायीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को सदस्यता नवीकरण गरेपछि निःशुल्क दुर्घटना बीमा हुने प्रावधान राखिएको उनलेे बताएका छन् । जसका कारण व्यवसायीहरू बीमित हुने क्रम जारी रहेको छ। संघले बीमा कार्यक्रम लागू गरेको करिब एक महिनामा ३१५ जना व्यवसायीको बीमा भएको अध्यक्ष लिम्बूले बताएका छन्। व्यवसायीहरूले संघले ल्याएको दुर्घटना बीमा कार्यक्रमले राहत मिलेको प्रतिक्रिया दिएका छन्। उनले ३१५ मा २७ नयाँ ब्यवसायी र २२
जना पत्रकार रहेको बताएका छन् । पत्रकारहरुको बीमा गरिएको रेकर्ड सञ्चार क्लब उर्लाबारीलाई हस्तान्तरण गरिएको छ। सो अवसरमा अध्यक्ष लिम्बूले ब्यवसायीहरुलाई डिजिटल आई डि कार्ड बनाएर दिन थालिएको बताएका छन् ।उनलेे
फागुन पहिलो हप्ता कृषि पर्य महोत्सव लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

