उर्लाबारी । उर्लाबारीमा जीवन बचाउ उपचार सेवा गृहद्वारा आयोजित १९औं साधारण सभामा लागूपदार्थ दुर्व्यसनले समाजमा ल्याएको संकटका विषयमा सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन्। खासगरी युवा पुस्तामा बढ्दो लागूपदार्थ दुर्व्यसनको लतले उनीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पुर्याइरहेको वक्ताहरूले चेतावनी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद उमाकान्त गौतमले लागूपदार्थ दुर्व्यसनका कारण तनाव, बेरोजगारी , साथीहरूको दबाब र पारिवारिक ध्यानको अभाव रहेको उल्लेख गर्दै यसको नकारात्मक प्रभावबारे सचेत हुन आग्रह गरेका छन्। उनले लागूपदार्थ दुर्व्यसनले मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्यमा गम्भीर समस्या ल्याउने र दैनिकीलाई अव्यवस्थित बनाउने बताएका छन्। “ड्रग्सको लतबाट मुक्तिका लागि आवश्यक परामर्श, पुनःस्थापना कार्यक्रम र परिवार तथा समुदायको सहयोग अपरिहार्य छ,” उनले थपे।
वक्ताहरूले जनचेतना अभियान, शिक्षा र परामर्शमार्फत समाजलाई लागूपदार्थ दुर्व्यसनको खतरा र यसबाट बच्नका लागि आवश्यक जानकारी दिनु महत्वपूर्ण रहेको औँल्याएका छन्। विशेषगरी स्थानीय निकाय र सुरक्षा निकायहरूले यस समस्यामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी पुनःस्थापनामा सहयोग पुर्याउनु आवश्यक भएको उल्लेख गरिएको छ।
समाजलाई लागूपदार्थ मुक्त बनाउन र युवाहरूलाई उज्ज्वल भविष्य निर्माणमा केन्द्रित गर्न आवश्यक सहयोग, पुनर्स्थापना र परामर्श सेवाहरू उपलब्ध गराउन सरोकारवाला पक्षले जोड दिएका छन्।
सांसद गौतमले जीवन बचाउ उपचार सेवा गृहमा उपचार प्राप्त गरेका व्यक्तिहरूको पारदर्शी लेखाजोखा गर्न आवश्यक रहेको बताएका छन्। उनले सेवा गृह‌ले रोगीको विवरण संकलन, उपचारको प्रकार र लागतको रेकर्ड,पारिवारिक सहमति, स्वास्थ्य अनुगमन र मूल्यांकन, पारदर्शी प्रतिवेदनले समुदायको विश्वास बढाउने बताएका छन् ।सांसद गौतमले लागू औषध नियन्त्रणमा अनुसन्धानात्मक कार्य र जनचेतना कार्यक्रमको पनि जोड दिएका छन्। लागू औषधको दुरुपयोगले अपराध, स्वास्थ्य समस्या र सामाजिक असन्तुलन निम्त्याउने हुँदा यो समस्याको समाधानका लागि राज्य, समुदाय र गैर-सरकारी संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। उनले लागू औषधकाे कारण पहिचान गरी नियन्त्रणका लागि रणनीति तयार गर्न, चेतनामूलक कार्यक्रम सञ्चालन गर्न, पुनर्स्थापन केन्द्रको व्यवस्थापन सुधार्न र कानूनी सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्। यस किसिमका पहलहरूले समाजमा शान्ति र सुव्यवस्था कायम राख्न सहयोग पुर्याउने विश्वास सांसद गौतमले व्यक्त गरेका छन्।उनले सुझावलाई पालना गर्दै सम्बन्धित संस्था र अधिकारीहरूले सेवा गृहको पारदर्शिता र लागू औषध नियन्त्रणको क्षेत्रमा ठोस कदम चाल्न आवश्यक देखिएको बताएका छन्। उनले प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
कार्यक्रममा प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्ग्वा र विद्या चाम्लिङले दुर्व्यसनबाट निको भएका धेरै व्यक्तिले नयाँ जीवन पाएको बताएका छन्। उनीहरूले दुर्व्यसनमा मानिसहरू किन फस्छन् भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको औंल्याउँदै उपचारसँगै विभिन्न रचनात्मक गतिविधिमा उनीहरूलाई संलग्न गराउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। त्यसैगरी
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले पनि उक्त संस्थामा आउनेको संख्या हरेक वर्ष घट्नु पर्नेमा उल्टो बढिरहेको तथ्यप्रति चिन्ता व्यक्त गरेका छन्। उनले समाज सुधारका लागि सबैले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपचाररत मानिसहरूलाई जीवन उपयोगी कार्यमा संलग्न गराई भौतिकवाद र आध्यात्मिकतालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन्। कार्यक्रममा उर्लाबारी वडा नम्बर ७ की अध्यक्ष उर्मिला थापाले शुभकामना मन्तव्य दिएकी थिइन् भने कोषाध्यक्ष मञ्जु परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। उपाध्यक्ष दिपेन्द्र कुमार दासले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन इन्चार्ज रविन्द्रप्रसाद दाहालले गरेका थिए। संस्थाका अध्यक्ष पवन थापाले संस्थाको प्रगति र भावी कार्यक्रमहरू सहितको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय