उर्लाबारी । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।
आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । 
घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । 
दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

