उर्लाबारी : खेतमा धान बाली पाकिसकेको थियो । किसानलाई बाली भित्र्याउन चटारो छ । उर्लाबारी नगरपालिका- ९ बाेडरलाइन गाउँका किसान(पुर्व शिक्षक) गजेन्द्र राईले धान काट्न गाउँमा मजदुर खोजे । उनले मजदुर पाएनन् । पाउँदा पनि महँगो ज्याला माग्यो । अन्ततः उनीप्रति घण्टा ७ हजार रुपैयाँमा खेतमै धान काट्ने र पेल्ने मेसिन बोलाए । आफ्नो १ बिगाहा खेतको धान १ घन्टा ३० मिनेटमै सके ।
उनी जस्तै बाेडरलाइन गाउँका दर्जनौँ किसानले मेसिन लगाएर धान बाली घर भित्रिआएका छन् । किसान धान बाली लगाउने बेला जति मेहनत गर्छ । त्यति मेहनत भित्र्याउन पनि लाग्छ । काट्न, बाध्न,बोक्न झार्न सबै काममा खेतला लाग्छ । उब्जनी भएको आधी बाली खेतालाकै मजदुरी तिर्नमा सकिन्छ । तर, प्रविधि आएपछि किसानलाई सहज भएको छ ।
‘खेतलाले तीन दिनसम्म लगाएर गर्ने काम मेसिनले एकछिनमै सकायो,’ किसान गजेन्द्र (जिआर सर)ले भने,‘धान भित्र्याउन यसवर्ष खर्च कमै लाग्यो ।’ गाउँमा आजभोलि खेताला खोज्नपनि झन्झटिलो हुँदै गएको उनले सुनाए । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा त्यसमा रक्सी पनि खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए । प्रविधिले किसानलाई खेती गर्न सहज बनाएको उनले सुनाए ।
‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनुपर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद्य हाल्नुपर्छ,’ उनले भने,‘काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबैठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’ पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए ।
‘गाउँ–गाउँमा मजदुर भेट्दैन् । सबै काम गर्ने बैदेशिक रोजगारमा गएका छन्,’ पत्रकार समेत रहेका किसान रुपेन्द्र शेर्मा भन्छन, ‘खेती गर्न अप्ठ्यारो लागिरहेको बेला प्रविधिले साहस थपेको छ ।’ सरकारले किसानलाई मल र विउविजनमा सहुलियत गरिदिए खेती गर्न आकर्षित हुने उनको भनाइ छ । खेतबाट धान भकारी राख्दा सम्म हप्तौँ लाग्थ्यो अब प्रविधि आएपछि एकैदिनमै त्यति काम भइरहेको उनले सुनाए।

