उर्लाबारी / स्थानीय सरकारको तल्लो निकाय को रूपमा रहेका टोल बिकास संस्था हरु गठन गरिएका धेरै स्थानमा गठन पश्चात् बेपत्ता झैँ रहेकोमा उर्लाबारी -५ मा रहेको तरुण डिवि टोल विकास संस्था भने स्थानीय बासिन्दाको सुखदुःखको सारथि बनेको छ । २०७९ फागुन २ गते दर्ता नंं १४ प्राप्त गरी प्रमाणपत्र पाएको संस्थाले विकास निर्माणको अतिरिक्त सामाजिक राहतका काम गरेपछि स्थानीयको मर्दा पर्दाको सारथि बन्दै गएको हो ।
राजनीति रंग नदिई सबै टोलबासीको साझा चौतारी बनेको सो टोल विकास संस्था दिनदिनै सफलताको सिँढी चढिरहेको छ ।
सुरुवाती दिनमा टोलका विभिन्न तीन स्थानमा नगरपालिकाले प्रदान गरेको १० हजार रुपैयाँमा अध्यक्ष गोपालप्रसाद भट्टराईले व्यक्तिगत थप गरी स्वागत बोर्ड राख्न सफल तरुण डिवि टोल विकास संस्था आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएर आथिक कारोबार समेत गर्दै आएको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।
साधारणसभा सम्पन्न गरी २०७९÷०८० को लेखापरीक्षण गराइसकेको सो टोल विकास संस्थामा अहिले पनि ९० हजार रुपैयाँभन्दा बढी रकम सञ्चित छ । त्यस्तै, सहयोगी हात सहयोगी मनबाट दिल खोलेर देउसी भैलो २०८१ बाट ८७ हजार ६ सय ५६ रुपैयाँ संकलन गरी सार्वजनिक गरिएको छ ।
एक दिन खेलिएको देउसीबाट संकलित रकमको व्याजबाट आएको रकमले सामाजिक कार्य गर्ने अठोट लिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
१ सय १६ घरधुरी रहेको सो टोल विकास संस्था एक परिवार एक सदस्य एक सय शुल्क एक कार्यकाल कार्यलाई अघि बढाइएको सचिव निलबहादुर चौहानले जानकारी दिनुभयो । चाडवाड अगावै टोलभित्रका सबै बाटोको सरसफाई सकेको उक्त टोल विकास संस्थाले तीन जना क्यान्सर पीडितलाई टोलको सक्रियतामा रकम संकलन गरी ७५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पाँच लाखको कोष बनाउने लक्ष्य र उद्देश्य बोकेर अघि बढेको संस्थाले सामाजिक राहत, उत्तरदायित्व र स्वास्थ्य शिविरलगायतका महत्वकांक्षी योजना अघि बढाएको उहाँले बताउनुभयो । टोलमा सुख दुःखको सारथि बनेको संस्थाले टोल विकास संस्थाका सदस्य, आफन्तको मृत्यु भएमा समवेदनासहित घरदलानमा उपस्थिति जनाउँदै आएको छ । यसैगरी, डिवि मार्ग अधुरो कालोपत्रे योजना अघि बढाएको संस्थाले ग्राभेल बाटो निर्माण, तार बत्ती, पोल व्यवस्थापन लगायतका कार्य गर्दै आएको सल्लाहकार संयोजक पोषकुमार बास्तोलाले बताउनुभयो ।
कोषाध्यक्ष बन्दना ढुंगानाका अनुसार देउसीबाट उठेको रकम सामाजिक कार्यमा प्रयोग गरिने छ । यसैबीच एक कार्यक्रमका बीच उक्त टोल विकास संस्थाले देउसी २०८१ मा संकलन भएको रकम सार्वजनिक गरेको छ भने संस्थाको विविध विषयमा समीक्षा गरेको छ । उर्लाबारी–५ का कार्यवाहक वडाध्यक्ष सुरेश आचार्यको प्रमुख आतिथ्यतामा वडा सदस्य देवीकला राईसहित सञ्चारकर्मी समेतको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराईले संस्था स्थापनादेखि हालसम्म भए गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यस्तै, प्रमुख अतिथि कार्यवाहक वडाध्यक्ष आचार्यले उर्लाबारी–५ मा रहेका १० वटा टोल विकास मध्ये तरुण डिवी टोल विकास संस्था चलायमान क्रियाशील रहेको भन्दै प्रसंसा गर्नुभयो । सो कार्यक्रममा सञ्चारकर्मी घनश्याम भण्डारी, संस्थाका प्रमुख सल्लाहकार पोषकुमार बास्तोला, कार्यसमिति सदस्य सृजना कार्की, सचिव निलबहादुर चौहान, लेखा सुपरीवेक्षण समितिका संयोजक छत्रप्रसाद अधिकारीलगायतले संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय