उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–४ मा भन्सार छली गरी ल्याइएका करिब तीन लाख ३७ हजार ६ सय रुपैयाँ मूल्यका अवैध कपडा प्रहरीले बरामद गरेको छ। कार्तिक २४ गते प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को. १ ह ६३०९ नम्बरको अटो रिक्सा रोकी भन्सार छलीका कपडा बरामद गरेको हो।
प्रहरीका अनुसार अटो रिक्सा भित्र लेडिज टप्स र कुर्ता–सुरुवालका दर्जनौं थान कपडा लुकीछिपी बोकिएको अवस्थामा फेला परेको थियो। अटोका चालक विराटनगर–१५ निवासी ३५ वर्षीय ओम जित साहसहित सवारीमा रहेका २२ वर्षीय अभिषेक चौधरी र २८ वर्षीय तबरेज अन्सारीलाई समेत नियन्त्रणमा लिइएको छ। बरामद सामग्री र पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ।
भन्सार छली तथा अवैध आयात निरुत्साहित गर्न प्रहरीले नियमित रुपमा निगरानी गरिरहेको बताइएको छ।

