उर्लाबारी, घर निर्माण तथा अन्य निर्माण कार्यमा भारतीय निर्माण व्यवसायीलाई प्राथमिकता दिइएको निर्णयका कारण उर्लाबारीका स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघले विरोध जनाएको छ। संघले यस निर्णयलाई गलत ठहराउँदै तत्काल खारेज गर्न माग गरेको छ। उर्लाबारी नगरपालिका परिसर भित्र बुधबार भएको बिरोध कार्यक्रममा संघका अध्यक्ष भागिराज खड्का (युवराज) ले स्थानीय निर्माण व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताउँदै, “स्थानीय सरकारले स्थानीय निर्माण व्यवसायीलाई प्राथमिकता दिने हो या बाह्य व्यवसायीलाई?” भनी प्रश्न गरेका छन्। उनले भारतीय निर्माण व्यवसायीलाई घर र अन्य निर्माण कार्यमा अनुमति दिनु गलत भएको र यसले स्थानीय व्यवसायी र श्रमिकलाई प्रतिकूल असर पार्ने कुरा बताएका छन्।
संघका सचिब बुलन पासवानले पनि यो विषयमा असन्तोष जनाउँदै भने, “बाहिरका निर्माण व्यवसायीहरूको प्रभाव बढ्दै गएको कारण स्थानीय व्यवसायी मर्कामा परेका छन्।” उनले, “स्थानीय जनप्रतिनिधिहरूले विदेशी नागरिकलाई प्रोत्साहन दिने काम गरिरहेका छन्,” भनी आरोप लगाए।
संघले स्थानीय निर्माण व्यवसायी तथा श्रमिकहरूको हकअधिकार सुनिश्चित गर्न, मजदुरहरूको दुर्घटना बीमा र सुरक्षा सामग्री उपलब्ध गराउन, विश्वकर्मा पूजा र मजदुर दिवसका लागि बजेटको व्यवस्था गर्न, र स्थानीय बेरोजगारी श्रमिक तथा निर्माण व्यवसायीलाई स्वरोजगारको अवसर प्रदान गर्ने कुरा पनि उठाएका छन्।
संघले स्पष्ट चेतावनी दिएको छ कि, यदि स्थानीय सरकारको निर्णय सच्याउन कदम नचालेको खण्डमा, उनीहरूले सङ्गठित आन्दोलन गर्नेछन्

