उर्लाबारी । नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको आर्थिक वर्ष २०८०/८१ को २९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। उपशाखाका सभापति भानुभक्त शर्मा पराजुलीको सभापतित्व र कोशी प्रदेशका सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा सभाको आयोजना गरिएको थियोे ।


सभाका प्रमुख अतिथि सांसद गौतमले रेडक्रसका लागि ब्लड कम्पोनेन्ट छुट्याउने मेसिन उपलब्ध गराउन पहल भइरहेको जानकारी दिएका छन् । उनले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका लागि सीटी स्क्यान मेसिन प्राप्त भएको र एनआइसीयु तथा आइसीयु कक्ष सञ्चालनको तयारी भइरहेको बताएका छन् ।


नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुबोध कुमार सिंहले उर्लाबारी नगरपालिकाले रेडक्रसलाई गर्दै आएको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । सभामा उर्लाबारी नगरप्रमुख गङ्गा प्रसाद खरेलले नगरपालिकाले शिक्षा, स्वास्थ्य, भ्रष्टाचारमुक्त समाज निर्माण, रासायनिक मलरहित कृषि, तथा सतह सिंचाइ कार्यक्रमहरु प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
नगरप्रमुख खरेलले यस वर्ष ५ किलोमिटर सडक कालोपत्रे गर्ने, ३ किलोमिटर कालोपत्रे सडक मर्मत, बक्राहा करिडोर निर्माण, बजार सौन्दर्यीकरण तथा हाटखोलामा रात्री बजार सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । उनले उर्लाबारी चोकमा सार्वजनिक शौचालय निर्माण, वडा नं.२ र ३ का खोलाहरूमा तटबन्ध, पुरानो बसपार्क निर्माण तथा बजार व्यवस्थापनको काम गरिने बताएका छन् ।


सभामा संस्थाका सचिव गोपालप्रसाद रिमालले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष ऋषिकेश खनालले आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका छन् । सभामा संस्थापक संयोजक तेजकुमार रिजाल, पूर्व अध्यक्ष हरिनारायण श्रेष्ठ, केशवबहादुर कार्की, जितबहादुर खत्री र निवर्तमान अध्यक्ष मदनबाबु प्रसाईंलाई सम्मान गरिएको थियो।
त्यसैगरी, आर्थिक एवं भौतिक सहयोगका लागि सुन्दरफूल साकोसलाई सम्मान गरिएको छ।

उर्लाबारी खानेपानीलाई सो आर्थिक वर्षमा सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाका रूपमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी उर्लाबारी र हाम्रो बचत उर्लाबारीलाई पनि सम्मान गरिएको छ। सो अवसरमा उर्लाबारीका करिब एक दर्जन संघसंस्थाहरू/ ब्यक्तिलाई सम्मान गरिएको छ। रेडक्रसले उर्लाबारीको सहयोगप्रति धन्यवाद दिँदै नगरपालिकालाई पनि सम्मान गर्दै प्रशंसा पत्रले सम्मान गरेको छ।
कार्यक्रममा नगर उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल, संस्थापक संयोजक तेजकुमार रिजाललगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए। सभामा सभापति पराजुलीले उर्लाबारी रेडक्रसको भावी योजना र कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय