सीप, ज्ञान र काम गर्ने जागर भयो भने खोलाको बगरमा त्यतिकै खेर गइरहेको पटेर लाई पनि आम्दानीका राम्रो स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकि छिन उर्लाबारी नगरपालिका वडा नम्बर ४, बक्राहा खोलाको किनारमा बसोबास गर्दै आएकी एकल महिला रेनुका धिमाल ले ।
६१ वर्षीया रेनुका विगत ३२ वर्षदेखि पटेरको गुन्द्री बुनेर आफ्नो जीविकोपार्जन गर्दै आएकी छिन्।
रेनुका धिमालको जन्म एउटा साधारण परिवारमा भएको थियो । उनले आफू २ वर्षकी हुँदा आफ्नी आमा गुमाउनुपर्यो। बाल्यकालमा नै मातृस्नेहबाट बञ्चित भएकी रेनुकाले जीवनका कठिन चुनौतीहरूसँग सामना गर्न सिकिन्। १३ वर्षको कलिलो उमेरमै वैवाहिक बन्धनमा बाधिए पछि अझै जिम्मेवारीहरु थपिदै गए त्यै पनि उनी हारिनन थाकिनन् ।
तीन छोरा र तीन छोरीकी आमा रेनुकाले परिवारको भरणपोषणका लागि धेरै संघर्ष गरिन्। चार वर्षअघि आफ्नो श्रीमान्लाई गुमाएपछि उनी पूर्ण रूपमा एकल महिला बनेकी छिन । यस दुखद घटनाले उनलाई झन् आत्मनिर्भर बन्न सिकायो ।
आर्थिक अभावका कारण उनले जीवन धान्न विभिन्न उपाय खोज्न थालिन्। नजिकै बग्ने बक्राहा खोलाको बगरमा उम्रने पटेर उनका लागि आर्थिक स्रोतको माध्यम बन्न पुग्यो। त्यही पटेरबाट गुन्द्री बुन्ने सीप उनमा विकसित हुँदै गयो र त्यही सीपले आज उनको घर चलेको छ । तीन छोरा र तीन छोरी कि आमा उनले एउटा छोरा दुर्घटनामा गुमाए पनि बाकी सबै सन्तानको विवाह गराई सकेकी छिन ।
रेनुका धिमालले आफ्ना गुन्द्रीहरू बेचेर कमाएको आम्दानीले परिवारका आवश्यकताहरू पूरा गरेकी छिन् भने आफ्नो कठिन जीवनमा पनि उनले परिवारलाई एकताबद्ध राख्न सफल भएकी छिन ।
बिगत ३१ बर्ष देखि बगरमा टहरो बनाएर बसोबास गर्दै आएकी उनीले सरकाले अझै पुर्जा नदिएको गुनासो गरिन ।
उनको संघर्षशील जीवनले उर्लाबारीका महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ।
रेनुका धिमालको जीवन कथाले बताउँछ कि कुनै पनि चुनौतीलाई दृढ इच्छाशक्ति र मेहनतले जित्न सकिन्छ। समाजका लागि उनी केवल एकल महिला नभई संघर्ष, आत्मनिर्भरता, र प्रेरणाको स्रोत पनि हुन्।

