मोरङको उर्लाबारी–३, मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले सोमबारदेखि सीटी स्क्यान सेवा सुरु गर्ने भएको छ। बिराटनगर बाहिर यो सेवा उपलब्ध गराउने यो पहिलो अस्पताल बनेको छ।
सोमबार हुने विशेष समारोहमा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईले सीटी स्क्यान सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार सीटी स्क्यान सेवा सञ्चालनसँगै स्थानीय तथा छिमेकी पालिकाका बिरामीले सहज र छिटो रोग पत्ता लगाउन सुविधा पाउनेछन्। यसले विशेष गरी आकस्मिक सेवा र गम्भीर रोगहरूको उपचारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले यसअघि पनि विभिन्न अत्याधुनिक उपकरण र सेवाहरू मार्फत बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस नयाँ सेवाले अस्पतालको सेवा स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

