उर्लाबारी ।मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा मंगलबारदेखि १० दिने झोला बनाउने तालिम सुरु भएको छ। मिक्लाजुङ गाउँपालिकाको सहयोगमा ‘गरिबसँग बिशेश्वर’ कार्यक्रमद्वारा आयोजित उक्त तालिममा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष बलबहादुर श्रेष्ठले स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताएका छन् । उनले तालिमबाट प्राप्त सीपले सहभागीहरूलाई रोजगारी सिर्जना गर्न र आर्थिक रूपमा सबल बनाउने विश्वास व्यक्त गरेका छन् ।
तालिममा सहभागीहरूले झोला बनाउने आधुनिक प्रविधि सिक्ने अवसर पाउनेछन्। आयोजकका अनुसार तालिमपछि सहभागीहरूलाई व्यावसायिक उत्पादनमा जोड्न आवश्यक सहयोग तथा मार्गदर्शन प्रदान गरिनेछ।
स्थानीय बासिन्दाहरूले यस्ता सीपमूलक तालिमहरूले गाउँमा स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

