उर्लाबारी नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी उजुरी दिने म्याद अन्तिम पटकका लागि थप गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयले आज एक सूचना प्रकाशित गर्दै १५ दिनको म्याद थप गरिएको जानकारी गराएको हो।
यसअघि मिति २०८१ चैत २० गते जारी सूचनामा १५ दिनको म्याद थप गर्दै २०८२ वैशाख ४ गतेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको थियो। तर तोकिएको म्यादपछि पनि सम्बन्धित सरोकारवालाहरु कार्यालयमा आइ उजुरी पेस गर्दै म्याद थपको अनुरोध गरिरहेकाले नगरपालिकाले मिति २०८२ वैशाख ५ गते बसेको निर्णय अनुसार अन्तिम पटकका लागि १५ दिनको समय थप गरेको हो।
सूचनामा भनिएको छ, “तोकिएको म्यादभित्र उजुरी नपरेमा वर्गीकृत भूउपयोग क्षेत्रमा भूउपयोग ऐन, २०७६ को दफा ७ बमोजिम जग्गाधनी सेस्ता र प्रमाण पूर्जा अद्यावधिक गरिनेछ।”
यस सूचना निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

उर्लाबारी नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरणको प्रक्रियामा पारदर्शिता र सरोकारवालाको सहभागिता सुनिश्चित गर्न यो अन्तिम म्याद थप गरेको जनाइएको छ। सरोकारवाला जग्गाधनीहरुलाई तोकिएको समयमा आवश्यक कागजातसहित उजुरी दिन नगरपालिकाले आग्रह गरेको छ। जग्गा धनीले जग्गा धनी पुर्जाको फोटोकपी, नागरिकताको फोटोकपी, नक्साको फोटोकपी र मालपोत तिरेको रसिदको फोटोकपी सहित निवेदन पेश गर्नुपर्ने उर्लाबारी ४ नम्बर वडा कार्यालयका सचिव पवन नेपालले जानकारी दिएका छन्।

