उर्लाबारी । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा उर्लाबारी-२ स्थित बेतिनी सीमसारको बृहत्तर परियोजना ‘सोकेसिङ’ गरिने भएको छ। यसै सन्दर्भमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले मंगलबार बेतिनी सीमसार क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले प्रमुख कार्यकारी अधिकृत कोइरालालाई स्वागत गर्दै बेतिनी परियोजनाबारे विस्तृत जानकारी गराएका छन् । परियोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा विकास गर्ने योजना रहेको नगर प्रमुख खरेलले बताएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।
कार्यकारी अधिकृत कोइरालाका अनुसार लगानी सम्मेलनमा दश करोडदेखि ३२ करोड रुपैयाँसम्मका योजनाहरू सम्झौता हुने छन्। करिब ६५ देखि ७० वटासम्म परियोजना सम्मेलनमा प्रस्तुत गरिने योजना रहेको र बेतिनी सीमसार बृहत्तर परियोजना सम्मेलनको मुख्य आकर्षणका रूपमा समावेश गरिने जानकारी गराइएको छ।
अवलोकन भ्रमणका क्रममा नगर प्रमुख खरेल र कार्यकारी अधिकृत कोइरालाले बेतिनी सामुदायिक वनका पदाधिकारीलाई परियोजनाबारे विस्तृत जानकारी गराएका थिए। कार्यक्रममा उर्लाबारी-३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, बेतिनी सामुदायिक वन समूहका अध्यक्ष भीम राई, कोषाध्यक्ष अरुणा थापा, सचिव अर्जुन बास्तोला, सदस्य विष्णु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
लगानी सम्मेलनका लागि प्रस्तुत गरिने परियोजनाहरूलाई कसरी बढी नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे आन्तरिक गृहकार्य तीव्र पारिएको नगर प्रमुख खरेलले बताएका छन् । बेतिनी सीमसारको समग्र विकासका लागि लगानी सम्मेलन महत्वपूर्ण अवसर हुने नगरपालिकाको विश्वास रहेको सचिवालयले बताएको छ।

