उर्लाबारी | उर्लाबारी नगरपालिका वडा नम्बर ५ ले १४ वर्षमुनिका बालबालिकालाई फुटबल तालिम दिएको छ । वडा कार्यालयको सहयोग र उर्लाबारी भेट्रान क्लबको व्यवस्थापनमा भएको तालिम आज समापन गरिएको छ । वडा कार्यालयले तीन महिना अघिदेखि राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा तालिम दिएको हो ।

उर्लाबारी भेट्रान क्लबका अध्यक्ष दिपक पोमूको अध्यक्षता, नगर उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडाध्यक्ष रविन लामाले बालबालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका बालबालिकालाई भविष्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम दिएको बताउनुभयो । तालिम गत वर्षपनि सञ्चालन गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न फुटबलप्रति आकर्षित गराउन तालिम फलदायी भएको बताउनुभयो । तालिमले बालबालिकालाई कुलतबाट टाढै राख्न र आफ्नो शारीरिक विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
तालिममा एक सयभन्दा बढी बालबालिकाको सहभागिता रहेको प्रशिक्षक तथा वडा सदस्य विनोद धिमालले बताउनुभयो । समापन कार्यक्रममा वडा सदस्य सुरेश आचार्य, मोरङ जिल्ला रेफ्री संघका महासचिव मनोज तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार घनश्याम भण्डारीले गर्नुभएको थियो ।

