उर्लाबारी । उर्लाबारी नगरपालिकाको सहयोग तथा उर्लाबारी युवा क्लबको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा सञ्चालन भइरहेको प्रदेश स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगितामा रतुवामाई भलिबल क्लब विजयी भएको छ।
आज भएको दोस्रो दिनको पहिलो खेलमा रतुवामाई भलिबल क्लबले बेलबारी भलिबल टीमलाई ३-२ सेटको अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो। वेस्ट अफ फाइभ अन्तर्गत खेलाइएको उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा उत्कृष्ठ प्रदर्शन गरेका रतुवामाईका जर्सी नं १५ का आयुस अधिकारी म्यान अफ द म्याच घोषित भए।
आज हुने दोस्रो दिनको दोस्रो खेल भने रंगेली भलिबल टिम र पाँचखपन भलिबल टिम संखुवासभा बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक विशाल गुरुङले बताए ।
भोलि सम्पन्न हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५५ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ।

