दिलीप पोखरेल / उर्लाबारी
यो तस्विर हो उर्लाबारी वडा नम्बर ३ मंगलबारे रामनगर चोक दक्षिण दुर्गा माध्यमिक विद्यालय जाने बाटोमा रहेको कल्भर्ट । अहिले वर्षा यामको बेला सो कल्भर्टको तल र माथी दुवैतिर पानी देख्न सकिन्छ । सो कल्भर्टको माथी पानी जम्न थालेसँगै दैनिक आवतजावतमा मुस्किल बन्दै गईरहेको छ । 
यसैबिच मंगलबार बिहान आफ्नो नानीलाई विद्यालयमा पुर्याएर फर्किने क्रममा साईकल अनियन्त्रित हुदा एक महिला लडेकी छिन् । साईकलको गति एकदमै कम भएकोले उनलाई चोटपटक लाग्न पाएन ।
यसअघि समेत उक्त स्थानमा पानी जमेकै कारण साईकलमा सवार विद्यार्थीहरु लड्दै आएका छन् ।
उर्लाबारी नगरपालिकाका प्रथम नगर प्रमुख खड्ग बहादुर फागोको पहलमा नगरपालिकाको शत प्रतिशत लगानीमा सो सडखण्डअन्तर्गत राजमार्गदेखी सो कल्भर्टसम्म २ सय ३८ मिटरको सडक कालोपत्रेका लागि नगरपालिकाले २३ लाख ७५ हजार २ सय ९३ रुपैयाँ विनियोजन गरेको थियो । सो सडकको वि.सं. २०७८ साल असार १५ गते निर्माण सम्पन्न हुनेगरी वि.स. २०७८ साल पुष १ गते निर्माण सम्झौता भएको थियो ।
यस्तै पुर्व नगर प्रमुख फागोकै पहलमा सो कल्भर्ट समेत निर्माण भएको थियो ।
यता भर्खरै मात्र निर्माण सम्पन्न भई संचालनमा रहेको कल्भर्टदेखी दक्षिणको सडकमा भने केहि प्राविधिक पक्षहरु नमिलेकोले हाल सो कल्भर्टमा पानी जम्न थालेको स्थानियहरु गुनासो व्यक्त गर्छन् ।
गत वैशाख ३० गतेसम्म सम्पन्न हुनेगरि रतुवामाई -१० स्थित एन.के. कन्ट्रक्सनले सो कल्भर्टदेखी दक्षिण करिव २ सय ४० मिटर बाटोमा कालोपत्रेसहित उर्लाबारीका अन्य ४ वटा सडकहरु कालोपत्रे गर्न ८६ लाख ६३ हजार ५ सय ७ रुपैयामा सम्झौता गरेको थियो ।
सम्झौता बमोजिम सडक निर्माण सम्पन्न भएतापनि वर्षा याम लागेसँगै सो कल्भर्टमा भने पानी जम्न थालेको छ । कन्ट्रक्सनले भने ईन्जिनियर स्टिमेटअनुसार नै सो कल्भर्टदेखी दक्षिणको सडकखण्डमा कालोपत्रे गरिएको जनाएको छ ।
यता पानी जम्न थालेसँगै सो कल्भर्टदेखी दक्षिण गत वैशाखमा कालोपत्रे भएको सडक निर्माणमा भने लापरवाही भएको हुनसक्ने स्थानिय बताउछन् । एक स्थानियकाअनुसार ईन्जिनियरले सो सडक खण्डको स्टिमेट फिल्डमा नआई आफ्नै कार्यकक्षबाट मात्रै तयार गरेको नतिजास्वरुप हाल पानी जमेको हुनसक्ने बताउछन् । स्थानिय हर्कमान कार्की भन्छन्, “ईन्जिनियरले कल्भर्ट र सडकबिचको प्राविधिक लागत ननिकाली स्टिमेट तयार गरेको हुनसक्छ, स्टिमेट तयारी मै लापरवाही भएको हुनसक्छ ।”
स्मरण रहोस् वडा नम्बर ३ ले सो सडकलाई दुर्गा माविहुदै चन्दने र थापाचोकसम्म कालोपत्रे गरेर नमुना सडक निर्माण गर्ने योजना बनाउदै आएको छ ।

