
२५ साउन। जलविद्युत परियोजना माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आइपिओ निष्कासन गर्ने भएको हो ।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ ९ गतेसम्म लम्बिनेछ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रूपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रूपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रूपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।