मोरङको लेटाङ नगरपालिकाको १९औँ नगरसभा अधिवेशन बुधबार सम्पन्न भएको छ । लेटाङ–५ स्थित ज्येष्ठ तथा अपांग नागरिक दिवा सेवा केन्द्रको सभाहलमा सम्पन्न अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ५० लाख ३० हजार ४ सय ५ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

“संस्कृत समृद्ध नगर, लेटाङवासीको रहर” भन्ने नारासहित सम्पन्न नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरको विकासका प्राथमिक क्षेत्रहरू समेटिएको जनाइएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ४५ करोड ५८ लाख ६४ हजार ५ सय रुपैयाँ र पुँजीगततर्फ २३ करोड ९१ लाख ६५ हजार ९ सय ८ रुपैयाँ विनियोजन गरेको छ । बजेटको स्रोतका रूपमा आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड तथा जनसहभागितालाई समेटिएको छ ।

आगामी आर्थिक वर्षमा १० शैयाको अस्पताल सञ्चालन, अन्तरधार्मिक शान्ति पार्क तथा पर्यटन प्रवर्द्धन, जाते खानेपानी आयोजनाको स्तरोन्नति, सडक कालोपत्रे, विद्यालय भवन निर्माण तथा स्तरोन्नति, शान्ति भगवती माध्यमिक विद्यालयमा छात्रावास निर्माण, सुशासन तथा संस्थागत विकास लगायतका योजनालाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
वडा तहका विकास कार्यक्रम सञ्चालनका लागि करिब ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा समेत बजेट व्यवस्था गरिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको समीक्षा गर्दै अन्तरधार्मिक शान्ति पार्क सञ्चालनमा आएको, १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको तथा शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ ।

नगर प्रमुखले सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै नागरिकको आवश्यकता, विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए । उनले आगामी वर्षका योजना सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझाव समेट्दै पारित गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय