उर्लाबारी । उर्लाबारीकै अग्रणि संस्थागत विद्यालय सप्तकोशी बोर्डिङ स्कुलले एक सय ५ जना विद्यार्थीलाई नगद २८ लाख ९४ हजार एक सय ३० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
स्कुलले नर्सरीदेखि कक्षा १० सम्मका प्रत्येक कक्षाबाट उत्कृष्टता हासिल गरेका विद्यार्थीसहित विभित्र आठवटा क्याटेगोरीमा छात्रवृत्ति प्रदान गरेको हो । आइतबार एक कार्यक्रमका बीच उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले छात्रवृत्ति वितरण गर्नुभयो ।
उर्लाबारी–५ मा नर्सरीदेखि कक्षा ३ सम्म र उर्लाबारी–४ मा ४ देखि १२ सम्म सञ्चालन भइरहेको छ । उत्कृष्ट छनौट भएका विद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप ११ महिनाकै मासिक शुल्क बराबरको नगद प्रदान गरिएको संस्थापक प्रिन्सिपल बैजयन्ति भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयले बर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयले कक्षा प्रथमलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ भने गरीब तथा विपन्न, दलित, आदिवासी, मधेसी, द्वन्द्व पीडित, अपाङ्गता भएका लगायतका विद्यार्थीहरुलाई आशिंक र पूर्ण छात्रवृत्ति प्रदान गरिरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोयानाथ भट्टराईले जानकारी दिनुभयो ।
सप्तकोशीले सामाजिक उत्तरदायित्वअन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान प्रोत्साहन गर्ने कार्य राज्यकै लागि अनुकरणीय भएको भन्दै नगर प्रमुख खरेलले विद्यालयको प्रशंसा गर्नुभयो ।
उर्लाबारी–४ को आइतबारेमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा १ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा उर्लाबारी नगर कार्यपालिका सदस्य कृष्णमाया कडरिया, अभिभावकहरु लगायतको आतिथ्यता रहेको थियोे ।।

